आज दिनभरका प्रमुख २० समाचार

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

बिज्ञापन

१- नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन् । ६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकसम्बन्धी कानुनअनुसार कैदमा २५ प्रतिशत छुट पाउने भएपछि काठमाडौं जिल्ला अदालतले उनको कैदमुक्तिका लागि डिल्लीबजार कारागारलाई संशोधित कैदीपुर्जी पठाएको हो । रायमाझी कार्तिक २५ गते ६५ बर्ष पुरा हुदैछन् । रायमाझीलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।

बिज्ञापन

२- अमेरिकामा मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरु भएको छ । नेपाली समयअनुसार साँझ ४: ४५ बजे कनेक्टिकट, इन्डियाना, केन्टकी, मेन, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्युयोर्क र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्र खुलेका छन् । यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा केही राज्यका गभर्नर पदका लागि पनि मतदान हुने व्यवस्था छ । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत छ । सिनेटका १०० सिटमध्ये रिपब्लिकनसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् भने दुई स्वतन्त्र सांसद डेमोक्रेटिक पक्षसँग मिलेर काम गर्छन् । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ । यसपटक चुनाव हुन लागेका ३५ सिटमध्ये २२ रिपब्लिकन र १३ डेमोक्रेटिक पार्टीका छन् । तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ सिटमा प्रतिस्पर्धा हुँदैछ । यस सदनमा बहुमतका लागि २१८ सिट आवश्यक छ । रिपब्लिकन पार्टीले कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि राष्ट्रपति ट्रम्पलाई आफ्ना नीतिसम्बन्धी कानुन पारित गराउन कठिन हुने विश्लेषण गरिएको छ । दुवै सदनमा बहुमत कायम राख्ने रिपब्लिकन र बहुमत हासिल गर्ने डेमोक्रेटिक पार्टीको लक्ष्य छ ।

३- सरकारले इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ । संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका पाण्डेले काठमाडौं, तिलोत्तमा र बुटवलका स्थानीय तहमा संरचनागत इन्जिनियरका रूपमा काम गरेका छन् । उनले भवनको संरचनागत सुरक्षा, नक्सा परीक्षण, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा काम गरेको अनुभव छ । पाण्डेले सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक र सन् २०१६ मा भारतबाट संरचनागत इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् । उनले नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन् । उनको नियुक्तिसँगै लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, निर्माण आयोजनाको गुणस्तर अनुगमन, संरचनाको संरक्षण तथा प्राविधिक व्यवस्थापनमा इन्जिनियरिङ अनुभव उपयोग हुने अपेक्षा गरिएको छ ।

बिज्ञापन

४- नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ । कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली मौलिक परम्परालाई डिजिटल सामग्रीमार्फत विश्वभर चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ । भिडियो अंग्रेजी भाषामा हुनुपर्नेछ भने अंग्रेजी उपशीर्षक वा अंग्रेजी भाषाको स्वराङ्कन अनिवार्य गरिएको छ । सहभागीले भिडियो सार्वजनिक गर्दा #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा @nepaltourism र फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पृष्ठलाई ट्याग गर्नुपर्नेछ । सामाजिक सञ्जालमा प्रकाशित भिडियोसँगै डाउनलोड तथा हेर्न मिल्ने अनुमति दिइएको गुगल ड्राइभको लिङ्क photonepal@ntb.org.np मा इमेल गर्नुपर्नेछ । भिडियो मौलिक सिर्जना हुनुपर्ने र प्रतियोगितामा सहभागी हुने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ । दशैँको अवसरमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थाको सहकार्यमा देशभरका एक सय स्थानमा लिङ्गे पिङ राखिएको थियो । कुकुर तिहार रिल प्रतियोगितालाई पनि नेपाली संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने प्रयासका रूपमा अघि बढाइएको बोर्डले जानाएको छ ।

५- सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न लागेको हो । कम्पनीको महेन्द्रनगर शाखाले सुरुमा किसानबाट मोटा धान खरिद गर्नेछ । यसपछि अन्य जिल्लामा पनि क्रमशः धान खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ । महेन्द्रनगर शाखाले कात्तिक १९ र २० गते कार्यालय परिसरबाट किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ । कुपनमा उल्लेख गरिएको मितिमा किसानले कम्पनीको मापदण्डअनुसारको मोटा धान महेन्द्रनगरस्थित गोदाममा ल्याउनुपर्नेछ । कम्पनीका अनुसार धान तौलने काम कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन हुनेछ । धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा पहिले कुपन लिनुपर्नेछ । कम्पनीले तोकिएको मिति र आवश्यक कागजातसहित उपस्थित हुन किसानलाई आग्रह गरेको छ । सरकारले मोटा धानको मुल्य प्रति क्विन्टल ३६६० रुपैयाँ र मध्यम धानको मुल्य प्रति क्विन्टल ३८६० तोकेको छ । कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत असोज २१ गते भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो ।

६- भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठेक्का सम्झौताअनुसार बाँकी किस्ता तथा मोबिलाइजेसन फन्ड भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गर्ने भन्दै घुस मागेको उजुरी परेपछि आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । आयोगको टोलीले घिमिरेसँगै गुड नेबर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वरका सञ्चालक वरुण ढुंगेललाई पनि पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीबाट ३३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कात्तिक १६ गते मध्यपुर थिमि नगरपालिका–९, निकोसेराबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । उनीहरूमाथि घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । कात्तिक १७ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

७- सरकारले एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २ करोड अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् । बैठकले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति दिने निर्णय गरेको छ । त्यस्तै, नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने र मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा तुर्किएको आन्ताल्यामा कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ । त्यस्तै, मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिने अवधि २०८५ कात्तिकसम्म र जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुङ्ग्याउने अवधि २०८६ असार मसान्तसम्म थप गर्नेगरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको छ । बैठकले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

८- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो । जनकपुरका लागि सैफ हसनले सर्बाधिक अविजित ७१ रन बनाएका थिए भने विशाल शुस्लिंगले ४३, जिम्मी निशामले २७ रन बनाएका थिए । त्यस्तै विराटनगरका बलर आन्द्रे रसेलले ४ विकेट लिए भने एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लागि इमरान शेखले सर्बाधिक ५६ रन बनाए भने लोकेश बमले ५० रन बनाएका थिए । त्यसैगरी आन्द्रे रसेलले २८ बलमा अर्धशतक बनाउदै अविजित ५२ रन बनाएका थिए । त्यस्तै जनकपुर बोल्ट्सका बलर अभिषेक तिवारीले २ विकेट लिएका थिए भने मोईन अलीले एक विकेट लिए ।

९- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । जलेलालाई भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि भारत सरकारले नयाँ राजदूत नियुक्त गरेको हो । दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन् । उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभस्थित भारतीय नियोगबाट सुरु गरेका थिए । त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

१०- नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी शिखर पावरको शेयर ५.९४ प्रतिशतले बढेको छ भने रिभर फल्स पावरको शेयर ५.८० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बेनी हाइड्रोको शेयर ५.०४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २३ करोड १४ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावरको १९ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

११- स्पेनिस दोस्रो डिभिजन क्लब टेनेरिफेका ३० वर्षीय स्ट्राइकर जेसस डे मिगुएलको खेलका क्रममा लागेको गम्भीर चोटका कारण निधन भएको छ । सोमबार एन्डोराविरुद्धको खेलमा गोलरक्षक जेसस ओवोनोसँग ठोक्किँदा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो । एम्बुलेन्समै हृदयाघात भएपछि स्वास्थ्यकर्मीले पुनर्जीवित गरेका थिए । सुरुमा उनको अवस्था स्थिर तर गम्भीर रहेको बताइएको थियो । मंगलबार बिहान स्वास्थ्य अवस्था थप बिग्रिएपछि स्थानीय समयअनुसार बिहान ८ बजे उनको निधन भएको टेनेरिफे क्लबले पुष्टि गरेको छ । घटनापछि खेलाडीहरू भावुक बनेका थिए । रेफ्रीले गोलरक्षक ओवोनोलाई सोझै रातो कार्ड देखाउँदै खेल स्थगित गरेका थिए । दुवै क्लबले डे मिगुएलको निधनप्रति दुःख व्यक्त गर्दै परिवार र आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।

१२- नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुवै पार्टीबीच मंगलबार भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने र चुनाव चिह्न पाँचकुने तारा हुने भएको छ । सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न कम्युनिष्ट आन्दोलनको एकीकरण आवश्यक रहेको उल्लेख गरिएको छ । एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने सहमति भएको छ । पार्टीको तत्कालीन कार्यनीतिमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने विषय समेटिएको छ । सहमति अनुसार आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ । परिस्थिति अनुसार आन्दोलनका सबै स्वरूप प्रयोग गर्न सकिने तथा सडक, संसद् र सरकारलाई आन्दोलनका मोर्चाका रूपमा अघि बढाइने उल्लेख छ । पार्टीको एकता राष्ट्रिय महाधिवेशन आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ । केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायमा सहमतिका आधारमा समायोजन गरिने सहमति भएको छ । त्यस्तै, सबै तहका पार्टी समिति र जनसङ्गठनको एकता तथा समायोजन मंसिर मसान्तभित्र सम्पन्न गर्ने उल्लेख छ । पार्टी समितिहरू विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सञ्चालन हुनेछन् । सैद्धान्तिक तथा वैचारिक मतभेद र विगतको समीक्षाका विषयमा निरन्तर छलफल गर्दै एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति पनि भएको छ । सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव उमा भुजेल, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।

१३- रिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको सरकारी जग्गा सट्टापट्टा गरी बिक्री गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेस नेता डा, मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरी उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । आरोपपत्रअनुसार मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ४८ र ७१ को कुल ४ बिघा ५ कठ्ठा ९ धुर जग्गा फलफूल उद्योग सञ्चालन गर्ने सर्तमा हदबन्दी छुटअन्तर्गत कम्पनीले प्राप्त गरेको थियो । तर, सर्तअनुसार उद्योग सञ्चालन नगरी जग्गा अन्य प्रयोजनमा प्रयोग गरिएको र पछि सरकारी जग्गा जफत हुनुपर्ने अवस्थामा सट्टापट्टाका नाममा बिक्री गरिएको अख्तियारको दाबी छ । उक्त जग्गा सट्टापट्टाका लागि तत्कालीन प्रधानमन्त्री नेपालले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गराएको र मन्त्रिपरिषद्को सामाजिक समितिका तत्कालीन संयोजक डा. मिनेन्द्रप्रसाद रिजालले २०६६ पुस १६ गते सट्टापट्टा गर्ने निर्णय गरेको आरोपपत्रमा उल्लेख छ । विराटनगरको जग्गा ८ करोड ३८ लाख ६२ हजार ५०० रुपैयाँमा बिक्री गरी बनिगामाको जग्गा १२ लाख ८५ हजार रुपैयाँमा खरिद गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. मिनेन्द्रप्रसाद रिजालसँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी, उपसचिव गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि केसीलाई प्रतिवादी बनाइएको छ । त्यस्तै, उद्योग मन्त्रालयका तत्कालीन उपसचिव नुरपति कँडेल र ध्रुवप्रसाद सापकोटा, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव हरिराज पन्त, शाखा अधिकृत बलराम निरौला, कानुन तथा न्याय मन्त्रालयका उपसचिव डा. अर्जुनकुमार खड्का र अर्थ मन्त्रालयका उपसचिव लक्ष्मण थापाक्षेत्री पनि आरोपपत्रमा समेटिएका छन् । भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक राजेन्द्रप्रसाद लौडारी, निर्देशक नारायणप्रसाद अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीलाई पनि प्रतिवादी बनाइएको छ । मालपोत कार्यालय विराटनगरका तत्कालीन मालपोत अधिकृत परशुराम अधिकारी तथा नायब सुब्बाहरू यादवप्रसाद पोखरेल, उर्मिला दाहाल (पोखरेल), राकेश निरौला र रमेश सुवेदीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । त्यस्तै फलफूल विकास निर्देशनालयका तत्कालीन वरिष्ठ फलफूल विकास अधिकृत द्रोणराज काफ्ले, क्षेत्रीय माटो प्रयोगशाला झुम्काका माटो विज्ञ सुनिलकुमार सिंह र नुनुलाल उराँव, क्षेत्रीय बाली संरक्षण प्रयोगशालाका तत्कालीन अधिकृत भानुभक्त मैनाली तथा जिल्ला कृषि विकास कार्यालय मोरङका तत्कालीन वागवानी विकास अधिकृत काशीकुमार चौधरी, योजना अधिकृत बसन्तराज अर्याल र वरिष्ठ कृषि विकास अधिकृत हरेन्द्रप्रसाद श्रीवास्तव पनि प्रतिवादी छन् । त्यस्तै, तत्कालीन गाउँ विकास समिति बनिगामाका सचिव मणिराम पाण्डे र खरिदार इन्द्रनारायण भगत थारू, भूमिसुधार कार्यालय मोरङका तत्कालीन अधिकारी उमानाथ पाण्डे, नायब सुब्बा डिल्लीराम पोखरेल र खरिदार तुलसीप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ । विद्यालयका तत्कालीन प्रधानाध्यापकहरू शंकर पोखरेल, दुर्गाप्रसाद पोख्रेल र बुढानीलकण्ठ माध्यमिक अंग्रेजी विद्यालय विराटनगरका तत्कालीन प्रधानाध्यापक मोहन आचार्यविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

१४- उत्तर कोरियाले विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार केन्द्र बाइनान्समा भएको ६ अर्ब डलरभन्दा बढीको चोरीमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । अमेरिकी संघीय अनुसन्धान ब्युरोले उत्तर कोरियाली ह्याकरको संलग्नता रहेको दाबी गरेपछि उत्तर कोरियाले त्यसलाई ‘उक्साहटपूर्ण र निराधार आरोप’ भनेको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले अमेरिकी आरोपलाई बेतुका भन्दै वासिङ्टनले अन्तर्राष्ट्रिय समुदायमा उत्तर कोरियाबारे भ्रम फैलाउन खोजेको बताएकी छन् । उनले साइबर अपराधका घटनामा प्रमाणबिना उत्तर कोरियालाई जोड्ने अमेरिकी व्यवहारको आलोचना गरेकी छन् । अमेरिकी अनुसन्धान ब्युरोले बाइनान्समा भएको चोरीमा ट्रेडरट्रेटर नामक ह्याकर समूहको संलग्नता रहेको दाबी गरेको छ । उक्त समूहले यसअघि बाइबिट कारोबार केन्द्रबाट पनि १ अर्ब ५० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आरोप छ । दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाली ह्याकरहरूले पाँच वर्षमा करिब १ अर्ब १० करोड डलर बराबरको क्रिप्टोकरेन्सी तथा भर्चुअल सम्पत्ति चोरी गरेका थिए । उत्तर कोरियाले भने यस्ता साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । यसैबीच, उत्तर कोरियाले हतियार परीक्षणलाई पनि तीव्रता दिएको छ । उसले रणनीतिक क्रुज क्षेप्यास्त्रका लागि नयाँ क्लस्टर वारहेड परीक्षण गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइनान्समा भएको चोरीमा उत्तर कोरियाको संलग्नता पुष्टि भइनसकेको र अनुसन्धान भइरहेको बताएका छन् ।

१५- नेपाली कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन् । कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको बताउँदै उनले पार्टी आफ्नै विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने बताएका छन् । चालिसेले कांग्रेसका प्रत्येक सांगठनिक गतिविधि पार्टीको विधानअनुसार हुने र विधान देशको संविधान तथा प्रचलित कानुनको अधीनमा रहेर कार्यान्वयन हुने बताएका छन् । लाखौँ सदस्यको अभिमत, सहभागिता र वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै पार्टी सञ्चालनको आधार भएको उनको भनाइ छ । उनले भनेका छन्- कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै सिखण्डी, प्यादा वा कृपापात्रको आवश्यकता पर्दैन, लाखौँ सदस्यको अभिमत, तिनको सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो । पार्टीभित्र विमति हुन सक्छन्, असहमति हुन सक्छन् । ती आन्तरिक विषय हुन् र लोकतान्त्रिक प्रक्रियाबाट समाधान हुँदै जान्छन् । कांग्रेसभित्रको असहमतिलाई देखाएर लोकतन्त्रविरोधीहरूले हर्षबढाइँ गर्नु कुनै आवश्यक छैन ।’ उनले सत्तारूढ पक्षलाई आफ्नो समस्या आफैँ समाधान गर्न र कांग्रेसको आन्तरिक विषयमा अनावश्यक चासो नराख्न आग्रह गरेका छन् । कांग्रेस सामाजिक सञ्जालका अभिव्यक्ति र उत्तेजनात्मक भाषणबाट निर्माण भएको पार्टी नभएको बताउँदै चालिसेले कलाकार र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नु तथा चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नु फरक विषय भएको उल्लेख गरेका छन् । सत्ताको उन्मादमा इतिहासलाई चुनौती नदिन चेतावनी दिँदै उनले शक्ति स्थायी नहुने र अहंकारको आयु छोटो हुने बताएका छन् । सद्दाम हुसेन, मुअम्मर गद्दाफी र एडोल्फ हिटलरजस्ता शासकको पतन स्मरण गराउँदै उनले इतिहासले कसैलाई सधैँ उन्मुक्ति नदिने टिप्पणी गरेका छन् । आज दबाइएका वा ओझेलमा पारिएका प्रश्नको जवाफदेहिताको समय पनि आउने उनको चेतावनी छ ।

१६- सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकप्टरका पाइलट सुरक्षित रहेका छन् । मंगलबार, बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएका थिए । प्रहरीका अनुसार दुवै पाइलट सुरक्षित रहेका छन् । एयर डाइनेस्टीको ९ एन- एओडी कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसी र फिष्टेल एयरको ९एन- एजेआर कलसाइन भएको हेलिकप्टर क्याप्टेन रविन प्रजापति सकुशल रहेका छन् । फिष्टेलका पाइलट प्रजापतिको खुट्टामा चोट लागेको बताइएको छ । दुर्घटनामा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको छ भने न्यूजिल्याण्डका नागरिक घाइते भएको प्रहरीले बताएको छ । घाइतेको थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

१७- दक्षिण एसियाले ठूलो कामकाजी उमेर समूहको जनसंख्याबाट आर्थिक लाभ लिने अवसर क्रमशः गुमाउँदै गएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘दक्षिण एसियामा जनसांख्यिक परिवर्तन : विकासका लागि अवसरदेखि चुनौतीसम्म’ शीर्षकको प्रतिवेदनअनुसार यस क्षेत्रमा अहिले १ अर्ब १७ करोड कामकाजी उमेरका मानिस छन् । तर अबको एक दशकभित्र यो जनसंख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्नेछ । सन् २०४९ सम्म दक्षिण एसियाको कुल जनसंख्याको १४ प्रतिशत हिस्सा ६५ वर्षभन्दा माथिको हुने प्रक्षेपण गरिएको छ । दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालसँग जनसांख्यिक परिवर्तनको तयारीका लागि केही बढी समय रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । नेपालको कामकाजी उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने र सन् २०५९ मा ज्येष्ठ जनसंख्या बढी भएको अवस्थामा प्रवेश गर्ने अनुमान गरिएको छ । तर नेपालका संरचनागत चुनौती पनि उल्लेखनीय छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको योगदान करिब २५ प्रतिशत छ। सन् २००१ देखि २०११ सम्म गरिबी घटाउन विप्रेषणको योगदान ४० प्रतिशत रहेको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकले स्वदेश फर्किएपछि करिब तीन वर्षसम्म अन्य श्रमिकको तुलनामा कम तलब पाउने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा किशोरी उमेरमै मातृत्व दर उच्च रहनुले छात्राको शिक्षामा असर पारेको छ । करिब ६० प्रतिशत चिकित्सक सहरी क्षेत्रमा बसोबास गर्ने भएकाले ग्रामीण जनसंख्याको स्वास्थ्य सेवामा पहुँच सीमित छ। स्वास्थ्य संस्थामा नसर्ने रोगको उपचार तथा व्यवस्थापन गर्न सक्ने तयारीको अवस्था २८.४ प्रतिशत मात्रै रहेको छ । नेपाली महिलाले पुरुषको तुलनामा औसतमा साताको नौ घण्टा कम काम गर्ने गरेका छन् । यसको प्रमुख कारणमध्ये घरायसी तथा हेरचाहको जिम्मेवारीलाई प्रतिवेदनले औँल्याएको छ। त्यस्तै, ६५ वर्षमाथिका कामदारमध्ये करिब ९१ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन् । प्रतिवेदनले नेपालमा सामाजिक सुरक्षा कोषलाई ज्येष्ठ नागरिकको आर्थिक सुरक्षा विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा उल्लेख गरेको छ । सन् २०१८ मा स्थापना भएको कोषमा ३१ प्रतिशत योगदानमा आधारित सामाजिक बीमा व्यवस्था छ भने अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकारले ९ प्रतिशत योगदान उपलब्ध गराउने व्यवस्था छ। त्यस्तै, ७० वर्ष पुगेका नागरिक तथा दलित र कर्णाली क्षेत्रका ६० वर्ष पुगेका नागरिकले मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। यो सुविधा संरक्षण गर्दै क्रमशः विस्तार गर्नुपर्ने प्रतिवेदनको सुझाव छ । विश्व बैंकले नेपालले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई स्वदेशमै उत्पादनमूलक काममा जोड्न व्यावसायिक तालिम, रोजगारीको अवसर र जीवनोपयोगी सीपलाई एकीकृत गर्नुपर्ने सुझाव दिएको छ । साथै, गुणस्तरीय रोजगारी सिर्जना, स्वास्थ्य सेवा विस्तार, महिला श्रम सहभागिता वृद्धि र ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा पेन्सन प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिएको छ । समयमै योजना बनाएर कार्यान्वयन गर्न सके नेपालले अहिलेको युवा जनसंख्याबाट आर्थिक लाभ लिनुका साथै भविष्यमा बढ्दै जाने ज्येष्ठ जनसंख्यालाई पनि आर्थिक रूपमा सुरक्षित बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

१८- अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका छन् । तर उनी घरेलु टी–२० प्रतियोगिता बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेल्ने बताएका छन् । उनको सम्झौता सन् २०२७–२८ सिजनसम्म थपिएको छ । म्याक्सवेलले यसअघि नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । उनले सन् २०२६ को टी–२० विश्वकपमा अस्ट्रेलियाबाट खेलेका थिए । गत फेब्रुअरीमा ओमानविरुद्धको खेल उनको अस्ट्रेलियाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बनेको छ । दुई पटक एकदिवसीय विश्वकप जितेका म्याक्सवेल सन् २०२१ मा अस्ट्रेलियाले टी–२० विश्वकप जित्दा पनि टोलीका महत्वपूर्ण सदस्य थिए । उनले अस्ट्रेलियाका लागि १३० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८९७ रन बनाउनुका साथै ५१ विकेट लिएका छन्। उनको स्ट्राइक रेट १५४.४२ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा म्याक्सवेलले पाँच शतक बनाएका छन् । यो रोहित शर्मासँगै संयुक्त विश्व कीर्तिमान हो । उनले अस्ट्रेलियाका लागि सात टेस्ट खेलेर ३३९ रन बनाएका थिए । उनको उच्चतम स्कोर भारतविरुद्ध राँचीमा बनाएको १०४ रन हो ।

१९- अफगानिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो पुरुष एकदिवसीय टोली वरीयतामा अफगानिस्तान छैटौँ स्थानमा उक्लिएको छ । श्रीलंकालाई पछि पार्दै अफगानिस्तान पहिलो पटक शीर्ष ६ मा प्रवेश गरेको हो । २ नोभेम्बर २०२६ मा अद्यावधिक वरीयताअनुसार भारत ११५ रेटिङसहित शीर्ष स्थानमा छ । न्युजिल्यान्ड १०९ रेटिङसहित दोस्रो, दक्षिण अफ्रिका र पाकिस्तान समान १०४ रेटिङसहित क्रमशः तेस्रो र चौथो तथा अस्ट्रेलिया १०२ रेटिङसहित पाँचौँ स्थानमा छन् । अफगानिस्तान ९४ रेटिङसहित छैटौँ स्थानमा रहँदा समान ९४ रेटिङ भए पनि श्रीलंका सातौँ स्थानमा छ । त्यसपछि इंग्ल्यान्ड आठौँ, बंगलादेश नवौँ र वेस्ट इन्डिज दसौँ स्थानमा छन् । अफगानिस्तानको यो उपलब्धिपछाडि पछिल्ला महिनाको उत्कृष्ट प्रदर्शन मुख्य कारण बनेको छ । टोलीले गत अगस्टमा आयरल्यान्डलाई उसकै घरेलु मैदानमा ४–० ले हराएको थियो । त्यसपछि संयुक्त अरब इमिरेट्समा जिम्बाब्वे र बंगलादेशसँग भएको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा अपराजित रहँदै उपाधि जितेको थियो । सन् २००९ मा एकदिवसीय क्रिकेटमा प्रवेश गरेको अफगानिस्तानले १७ वर्षमै विश्वका शीर्ष ६ टोलीमा स्थान बनाउन सफल भएको हो । टोलीले अहिलेसम्म खेलेका १९१ एकदिवसीय खेलमध्ये ९६ मा जित हासिल गरेको छ । यसअघि नै अफगानिस्तानले बंगलादेश, इंग्ल्यान्ड र वेस्ट इन्डिजलाई वरीयतामा पछि पारिसकेको थियो । आईसीसीको टोली वरीयता पछिल्ला खेलको नतिजा र टोलीले प्राप्त गरेको रेटिङका आधारमा निर्धारण हुन्छ । बलिया टोलीविरुद्धको जितले वरीयता सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । अफगानिस्तानको सफलतामा स्पिन बलिङसँगै ब्याटिङको योगदान पनि महत्त्वपूर्ण छ । इब्राहिम जादरान, रहमानुल्लाह गुरबाज र सदिकुल्लाह अटलजस्ता खेलाडीले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्। नेपाल भने पछिल्लो वरीयतामा ३० रेटिङसहित १७औँ स्थानमा रहेको छ ।

२०- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश तयार रहेको बताएका छन् । सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारको स्थलगत अवलोकन गरेपछि उनले प्रतियोगिता आयोजनाबारे विश्वस्त रहन आग्रह गरेका हुन् । अवलोकनका क्रममा मन्त्री पोखरेलले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग पूर्वाधार निर्माणको प्रगति र बाँकी कामबारे छलफल गरेका थिए । उनले निरन्तरको प्रयास र संवादले निर्माण कार्यलाई गति दिएको बताउँदै रंगशाला तथा अन्य संरचना तयार हुँदै गएको उल्लेख गरे । मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहेको घोषणा गर्दै प्रतियोगिताको काउन्टडाउन सुरु भएको जानकारी दिएका छन् । लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको राष्ट्रिय खेलकुदले कर्णालीको खेल क्षेत्रलाई नयाँ उचाइ दिने विश्वास पनि उनले व्यक्त गरेका छन् । सुर्खेत भ्रमणका क्रममा मन्त्री पोखरेलले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसँग पनि प्रतियोगिताको तयारी तथा पूर्वाधार निर्माणका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

यस्तो छ तिहारको भाइटीकाको शुभसाइत

बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

आज दिनभरका प्रमुख २० समाचार

एनपीएल : पोखरामाथि लुम्बिनी लायन्सको सहज जित

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेस

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुदै