शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामै राख्ने आदेश, तीन जना धरौटीमा रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । शुक्रबार न्यायधिशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश सदर गर्दै रायमाझीसहित अभियुक्तहरू इन्द्रजित राई, केशव दुलाल लगायत ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।  

सोही प्रकरणमा थुनामा रहेका टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई भने ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश जारी भएको छ । उनीसँगै पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको हो । 

सो प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । रिजालले शुरुदेखि नै सो प्रकरणमा आफ्नो संलग्नताबारे इन्कारी बयान दिँदै आएका थिए भने जाहेरिदिनेवालाबाट उनले रकम लिएको पनि पुष्टि हुन सकेको थिएन । 

पूर्व गृहमन्त्री खाँणका सम्बन्धमा निर्णय गर्दा दुई न्यायधिशहरुबीच राय बाझिएपछि अझै केही समय थुनामै रहने भएका छन् । अब तेस्रो न्यायधिशको इजलासमा खाँणको सम्बन्धमा सुनुवाइ भएपछि मात्र उनलाई थुनामा राख्ने या छाड्नेबारे निर्णय हुने बताइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्