काँग्रेसका सबै नेतामाथि छानबिन गर्न महामन्त्री शर्माको चुनौती

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसका सबै नेतामाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानबिन समिति बनाउन चुनौती दिएका हुन्। 

उनले नेपाली काँग्रेसका नेता छानबिनको दायरामा आउन तयार रहेको बताए। उनले गृहमन्त्री रवि लामिछानेले काँग्रेसका नेतामाथि संसदमा बोलेरै आरोप लगाएको भन्दै त्यसमा सबैमाथि छानबिन गर्न आफूहरु तयार रहेको बताए। 

उनले काँग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजूसम्म छानबिन गर्न तयार रहेको भन्दै कसलाई छानबिन गर्ने हो भन्दै प्रश्नसमेत गरे। उनले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानबिन गरेपनि आपत्ति नभएको बताए।

उनले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारी बन्धु गठबन्धन भएको टिप्पणी गरे। एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमतिका साथ यो गठबन्धन अगाडि बढिरहेको उनले बताए। 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्