सिन्धुलीको मध्यपहाडी लोकमार्ग पहिरो खस्दा अवरुद्ध

काठमाडौ : लगातारको वर्षाले पहिरो खस्दा सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको हो ।
लोकमार्गमा यातायात अवरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुर, उदयपुरबाट काठमाडौं आवतजावत गर्ने सवारी साधन बीचमै अलपत्र परेका छन् ।
लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ को कुँडुलेमा गएराति पहिरो खस्दा ट्रकसमेत पुरिएको छ । सो स्थानमा लेदोसहितको पहिरो खस्दा प्रदेश २ -०३-००१ ख-७१४४ नम्बरको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।