गृहमन्त्रीलाई प्रभु शाहको प्रश्न : शान्तिपूर्ण जुलुसमा लाठी प्रहार किन गर्नुभयो ?
काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले कवाड व्यवसायीमाथि लाठी प्रहार भएकोबारे भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै शाहले शान्तिपूर्ण आन्दोलनमा सहभागी व्यवसायीमाथि लाठी चार्ज गर्ने प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरेका हुन्।
शान्तिपूर्ण जुलुसमा तपाईंहरुले लाठी प्रहार किन गर्नुभयो ? सांसद शाहले गृहमन्त्री लामिछानेमाथि प्रश्न गरे। ‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्न नेपाली जनताको संवैधानिक र लोकतान्त्रिक हक हो। तर, हिजो कवाड व्यवसायीहरुको शान्तिपूर्ण जुलुसमाथि, धर्नामाथि प्रहरीले निर्मम लाठी प्रहार गरेको छ। झण्डै ५० जना घाइते भएका छन्। एक दर्जन गम्भीर घाइते भएका छन्, टाउको फुटेका छन्। उनीहरु वीर अस्पतालमा भर्ना भएका छन्। यसरी संवैधानिक हको देशको राजधानीमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा ’ उनले भनेका छन्,‘म गृहमन्त्रीको जवाफ चाहन्छु। शान्तिपूण रुपमा जुलुसमा तपाईंहरुले लाठी प्रहार किन गर्नुभयो र? गृहमन्त्रीले यसमा स्पष्ट जवाफ चाहन्छु। त्यसमा संलग्न प्रहरीहरुलाई कारबाहीको माग गर्न चाहन्छु।’
उनले घाइतेको निशुल्क उपचार गर्न माग गरे। सम्मानीत अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै उनले आपत्ति जनाए। उनले भने, ‘नेपालको संविधानले भन्छ कानुन अनुसार हरेक नेपाली व्यवसाय गर्न पाउँछन्। अदालतले पनि यहि भन्छ हस्तक्षेप नगर। अहिले महानगरले लुटपाट, कुटपीट र आतंक सिर्जना गरेको छ त्यसको विरुद्ध कवाड व्यवसायी आन्दोलित भएका हुन्।’