दुग्ध क्षेत्र नेपालको कृषि अर्थव्यवस्थाको महत्त्वपूर्ण क्षेत्र हो : कृषिमन्त्री अधिकारी

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थव्यवस्थाको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय दुग्ध सहकारी सङ्घले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले निजी र सरकारी दुबैले दुग्ध किसानको रकम भुक्तानी गर्नुपर्नेमा जोड दिदै डिडिसीलाई सरकारले दिएको ६० करोड ऋण किसानकै हातमा जानुपर्नेमा जोड दिए ।

मुलुकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध सहकारीहरुको भूमिका महत्त्वपूर्ण छ भन्दै उनले दुग्ध किसानले भोगेका समस्याहरुमा आफू जानकार रहेको र समस्या समधानमा मन्त्रालय लागिपरेको बताए ।

उनले दुग्ध विकास संस्थानलाई व्यावसायिक बनाउने कार्यको सुरुवात भइसकेको बताउदै यी निकायमा किसानलाई सहभागिता गराउने प्रतिबद्धता पनि व्यक्त गरे । हाल ६४ जिल्लामा १८७५ वटा दुग्ध सहकारी संस्थाहरु रहेको र वार्षिक १० अर्ब रुपैयाँको कारोबार हुने गरेको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ ।

पशु बिमाको सुनिश्चित नहुँदा पेशालाई निरन्तरता दिन अप्ठ्यारो परेको, ७ महिनादेखि दुधको रकम भुक्तानीमा समस्या, दिगो बजारको अभाव, दुग्ध पदार्थ अघोषितरुपमा आयात भइरहेको, सहकारी संस्थाले उद्योग सञ्चालन गर्न कानुनी जटिलता जस्ता समस्या रहेको दुग्ध किसान तथा दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्