सुन जस्तो देखिने धातु र विभिन्न गरगहना सहित सिन्धुलीबाट एक जना पक्राउ

काठमाडौं : सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानबाट ४८२.२३ ग्राम काँचो सुन जस्तो देखिने बिस्कुट आकारका टुक्रा २ थान र विभिन्न गरगहना सहित पर्सा पोखरिया नगरपालिका- ८ जगतपुर बस्ने ४८ वर्षीय बिक्रम साहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५५४० नम्बरको फोर्स गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार साहको साथमा रहेको झोलाभित्र ४ वटा प्याकेटमा लुकाई छिपाई ल्याउँदै गरेको बिल बिजक नभएको उक्त परिमाणको धातु र गरगहना फेला पारी उनलाई पक्राउ गरेको हो । उनको साथबाट औठी ७३ थान, मंगलसुत्र ५ थान, झुम्कारटप ६ थान, बाला १ थान, नेकलेस १ थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा १२ थान, मोवाइल १ थान र नगद १९ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।