समाजसेवा र मानविय काम गर्नका लागि मान्छेको मनैबाट लगाव हुनुपर्छ : डा शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानविय काम गर्नका लागि मान्छेको मनैबाट लगाव हुनुपर्ने बताएका छन् । कागेश्वरी मनोहरामा रहेको असाहय गाईबाछा संरक्षण अभियानको अवलोकन गर्ने क्रममा पूर्वमहामन्त्री कोइरालाले यस्तो बताएका हुन ।
उनले समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने बताए । कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेर संस्थाले सरकारले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गरे । राष्ट्रिय जनवारको संरक्षण जस्तो पवित्र कामलाई दिर्घकालिन रुपमा व्यवस्थित गर्नका लागि आफूबाट हुने सबैखाले सहयोग गर्न तयार रहेको बताए ।
सो कार्यक्रममा पूर्वमन्त्री दिपक गिरीले राष्ट्रिय जनावरको संरक्षण जस्तो प्रशंसनीय कार्य गरेको भन्दै संस्थालाई सवैबाट सहयोग हुने बताए ।
यसैगरि कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्की राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको भन्दै यो कामको स्वमित्व केन्द्र सरकारले लिनुपर्ने बताए ।
उनले पशुपति क्षेत्र विकास कोषले आफ्नो छाडा गाईको संरक्षण गर्न दायित्वका साथ स्थापना भएको गौशालालाई व्यवस्थित गर्न नसकेको भन्दै यो केन्द्रको स्वामित्व लिनुपर्ने बताए ।
उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दिपक भट्टराई, कांग्रेसका युवा नेता हरिबोल भण्डारीको उपस्थिती रहेको थियो ।
सो क्रममा पूर्व महामन्त्री कोइरालाले सो केन्द्रको परिसरमा वीपी कोइरालाका नाममा रुद्राक्षको विरुवा रोपेका थिए भने त्यहाँ संरक्षण गरिएका गाईलाई पिठो खुवाएका थिए । कोइरालाले सो केन्द्रलाई ५० हजार बराबरको पिठो हस्तान्तरण गरेका थिए । एकसय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा २ सय ७१ वटा गाई तथा बाछाहरु रहेका छन् । सडकमा बेवारिसे छोडिएका गाईबाछालाई केन्द्रले विगत सात वर्षदेखि संरक्षण गर्दै आएको छ ।