गृहमन्त्रीलाई बुझाइयो पोखरा बेलुन विस्फोट घटनाको प्रतिवेदन

काठमाडौं : पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ।
भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका थिए।
समितिले घटनाको विस्तृत छानविन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।
समितिले विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रमहरूमा प्रज्वलनशिल पदार्थहरूको प्रयोग गर्न पूर्ण रुपमा रोक लगाउनुपर्ने र प्रविधिका नाउँमा जोखिम मूल्यांकन नगरी कुनै कार्यक्रमहरू औपचारिक समारोहमा समावेश गर्न नहुने लगायतका सुझावसहितको विषय समेटिएको छ।