वैदेशिक रोजगार ऐन आउँदो अधिवेशनमा पास हुन्छः मन्त्री भण्डारी

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरु गरेको बताएका छन् ।
बिहीबार वैदेशिक रोजगार व्यवसायी सङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा मन्त्री भण्डारीले संसदको आउँदो अधिवेशनबाट पास गर्नेगरी ऐन संशोधनको काम थालनी भएको बताएका हुन् ।
उनले वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरू रहेका कारण समयसापेक्ष सुधार गर्नका लागि ऐन संशोधन गर्न थालिएको जानकारी दिए। आजबाट नै वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलको छलफल सुरु गरेको उनको भनाई छ ।
उनले भने, ‘‘आजैदेखि वैदेशिक रोजगार ऐन संशोधनका लागि कार्यदलको छलफल सुरु गरेका छौं । वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्ष पनि त्यस कार्यदलको सदस्य भएको हुनाले यो काममा यस समितिको सुझाव पनि आउने नै छ । वैदेशिक रोजगारमा धेरै समस्याहरू देखिएको हुनाले ऐनको समयसापेक्ष सुधार आवश्यक छ । संसदको आउँदो अधिवेशनमा संशोधनका लागि ऐन पेस गर्नेगरी तयारी गरिरहेका छौं ।’’
वैदेशिक रोजगार व्यवसायीहरूले पनि इमानदार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह छ ।