राष्ट्रिय सभाद्वारा ‘पर्यटन विधेयक, २०८१’ स्वीकृत

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकले ‘पर्यटन विधेयक, २०८१’लाई सर्वसम्मतीले स्वीकृत गरेको छ । बैठकमा सँस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त विधेयक माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको पर्यटनमन्त्री पाण्डेले जवाफ समेत दिए पछि उक्त विधेयकलाई स्वीकृत गरिएको हो ।
स्वीकृत विधेयक माथि संशोधनको सूचना दिन चाहने सांसदहरुले राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखा, सिंहदरबारमा आफ्नो संशोधनहरु दर्ता गराउने सक्ने व्यहोरा बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी समेत गराएका थिए ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धमा प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै यही जेठ २ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल एक कार्यक्रममा सहभागी हुन स्वीजरल्याण्डको जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार समेत कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई तोकिएको सभालाई जानकारी गराएका थिए ।
बैठकमा विधायन व्यवस्थान समितिकी सभापति तुलसाकुमारी दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरेकी थिइन् ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरेका थिए ।
यसैबीच, राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरु शून्य र विशेष समयमा बोल्दै समसामयिक विषयमा अध्यक्ष मार्फत सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
राष्ट्रिय सभाको आजको बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २३२ (क) को उपनियम ६ मा रहेको व्यवस्था अनुसार राष्ट्रिय सभाका सदस्य प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूसँग कम्तिमा पनि वर्षको एकपटक विकास निर्माण, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन लगायतका विषयमा समन्वय बैठक गर्ने प्रावधान रहेकोले यसै व्यवस्थाको कार्यान्वयनको प्रयोजनार्थ यही जेठ ११ र १२ गते सातवटै प्रदेशका मुकाममा क्रमशः स्थानीय तहका प्रमुखहरु तथा प्रदेश सभाका सदस्यहरुसँग समन्वय बैठक गर्ने गरी यही जेठ १० गतेका आ–आफ्नो प्रदेशतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सभालाई जानकारी गराएका थिए ।
सभाध्यक्ष दाहालले सांसहरुले फर्किए पछि उक्त छलफल र अन्तरक्रियामा उजागार भएका विषयहरु र समस्या समाधानका सुझाव समेत समावेश गरी राष्ट्रिय सभा समक्ष पेश गरिने र सोको कार्यान्वयनका लागि नेपाल सरकारका सम्बन्धित निकायमा पठाइने पनि सभालाई जानकारी गराएका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।