लाओसमा अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, छलफल ‘फलदायी’ भएको अमेरिकी भनाइ

काठमाडौं : चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच शनिबार लाओसमा भएको भेटवार्ता ‘खुला र फलदायी’ भएको अमेरिकी स्रोतले जनाएको छ ।
दक्षिण चीन सागरलगायत बेइजिङको बढ्दो आक्रामकता र मस्कोसँगको गहिरो सम्बन्धलाई मध्यनजर गर्दै क्षेत्रीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले गरिएको बहुदेशीय एसिया भ्रमणको एक हिस्साका रूपमा ब्लिन्केन लाओस आएका हुन् ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का विदेशमन्त्रीहरूको बैठकका क्रममा चिनियाँ र अमेरिकी कुटनीतिज्ञबीच एक घण्टा २० मिनेट लामो वार्ता भएको अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।
चीनको विदेश मन्त्रालयले भने बैठकबारे कुनै विज्ञप्ति जारी गरेको छैन । बैठक हुनुभन्दा केही समयअघि ब्लिन्केनले चीन र फिलिपिन्सबीच क्षेत्रीय विवाद रहेको दक्षिण चीन सागरमा बेइजिङको ‘बढ्दो गतिविधि’को आलोचना गरेका थिए ।
-एजेन्सी