म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं : शुक्रबार म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महशुस गरिएको रोयटर्सले उल्लेख गरेको छ। भूकम्पपछि बैंककका सयौं मानिसहरु आतंकित भएर भवनहरुबाट बाहिर निस्किएका छन् ।
अमेरिकी भूगर्भ अनुसन्धानको मापन अनुसार जमीनको सतहभन्दा १० किलोमिटर गहिराइबाट ७.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
करिब १२ लाख जनसंख्या भएको म्यान्डेले शहरबाट लगभग १७.२ किलोमिटर केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । बैंककका प्रत्यक्षदर्शीहरूले मानिसहरु आतंकित भएर सडकमा दौडेको र स्विमिङ पुलबाट पानी छछल्किएको बताएका छन् ।