स्वास्थ्य बीमा वापतको ५ अर्ब ५९ करोड दावी भुक्तानी
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको मंसिर महिनासम्म स्वास्थ्य बीमा वापतको ५ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको छ । बोर्डले चौथो पटक अर्थात यही मंसिर महिनासम्म स्वास्थ्य बीमा वापतको ५ अर्ब ५९ करोड ०६ लाख ४५ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो ।
बोर्डले चौथो पटकको दावी भुक्तानीमा सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको १ अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ ।
यसअघि गत कात्तिक महिनामा एक अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ दावी भुक्तानी गरेको थियो । त्यस्तै, असोज महिनामा स्वास्थ्य बीमा वापतको ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने भदौमा २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ दावी भुक्तानी गरिएको थियो ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा वापतको २६ अर्ब ५९ करोड रुपैयाँ भन्दाबढिको दावी भुक्तानी गरिसकेको जनाएको छ ।
स्वास्थ्य बीमा गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ । बोर्डको पछिल्लो तथ्यांक अनुसार देशभर स्वास्थ्य बीमा गर्नेहरूको संख्या ६२ लाख नाघेको छ । सातै प्रदेशमा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या ६२ लाख ६ हजार ३९६ पुगेको हो ।
स्वास्थ्य बीमा गर्नेमा पुरुषको तुलनामा महिलाहरूको संख्या धेरै रहेको देखिन्छ । बोर्डको तथ्याङ्क हेर्ने हो भने स्वास्थ्य बीमा गर्ने महिलाहरूको संख्या ३२ लाख २ हजार २५८ रहेको छ भने पुरुषको सङ्ख्या ३० लाख ३ हजार ३७७ रहेको छ । बीमा गर्ने अन्यमा ७६१ जना रहेका छन् ।