स्वरोजगार कोष मार्फत १३ अर्ब लगानी, हालसम्म करिब डेढ लाख जना लाभान्वित
काठमाडौं । सरकारले युवा तथा साना व्यवसायीका लागि करिब १३ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषको यस्तो लगानीबाट हालसम्म झन्डै डेढ लाख जना जति लाभान्वित भएको देखिएको छ । युवा तथा खेलकुद मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत १२ अर्ब ९३ करोड ११ लाख ८५ हजार सो बराबरको लगानी गरेको हो । हाल कोषमा लगानीका रुपमा रहेको रकम ४ अर्ब २४ करोड ६५ लाख ७ हजार रुपैयाँ रहेको छ ।
कोषले विपन्न वर्गका लागि भन्दै ३ अर्ब ८३ करोड ८ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । कोषको सञ्चित आम्दानी भने ८० करोड १८ लाख ८२ हजार रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ । हालसम्म यो कोषले २ हजार ६५७ वटा सहकारी संस्थाहरूमा लगानी गरेको छ । यसबाहेक कोषले ४० वटा बैंक तथा वित्तीय संस्थाहरूमा समेत लगानी गरेको छ। कोषले हालसम्म ९५ हजार १६१ जनालाई स्वरोजगार बनाएको दाबी गरेको छ । हालसम्म कोष मार्फत अभिमुखीकरण तालिम प्रदान गरिएका व्यवसायीहरू को सङ्ख्या ४२ हजार ५६३ रहेका जनाइएको छ ।
त्यस्तै, सीपमूलक तालिम प्रदान गरिएका व्यवसायीहरूको सङ्ख्या भने ८ हजार ४४० रहेको छ । यसरी हेर्दा कोषबाट अहिलेसम्म एक लाख ४६ हजार जना भन्दा बढी व्यक्तिले प्रतक्ष्य रुपमा लाभ लिएको देखिन्छ । त्यसबाहेक कोषले अनुशिक्षण तालिम प्रदान गरेका संस्था तथा पदाधिकारीहरू ६ हजार ७८ रहेका छन् । कोष मार्फत ब्याज अनुदान प्राप्त गर्ने व्यवसायीहरू १४ हजार ६२ रहेको कोषले जनाएको छ ।
हालसम्म कोषले ब्याज अनुदानका रुपमा १४ करोड ५८ लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । कर्जा व्यवस्थापन शुल्क वितरण गरिएका व्यवसायीहरू भने २२ हजार ३४४ रहेका छन् । कर्जा व्यवस्थापन शुल्क भुक्तानीका लागी कोषले एक करोड ११ लाख ७२ हजार रुपैयाँ खर्च गरेको छ ।
त्यसैगरी, स्वरोजगार बीमा गरिएका व्यवसायीहरू ७० हजार ८४५ जना रहेका छन् । त्यस्तै, बीमा क्षतिपूर्ति उपलब्ध गराइएका व्यवसायीहरूको सङ्ख्या १ हजार १ सय ५६ रहेको छ । कोषले बीमा क्षतिपूर्तिका लागि ६ करोड ९६ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको छ ।
बिना धितो स्वरोजगार कर्जा लगानी गर्ने, सहुलियत ब्याजदरमा कर्जा लगानी गर्ने, व्यवसायी तथा व्यवसायीको परियोजनाको निःशुल्क बीमा गरिदिने र असल कर्जाग्राहीहरुले ब्याजमा ६० प्रतिशत अनुदान रकम फिर्ता गर्ने लगायत कोषका विशेषताहरू रहेका छन् ।
कोषले १८ वर्षदेखि ६० वर्ष उमेर समुहका आर्थिक रुपमा विपन्न, बेरोजगार युवा तथा साना व्यवसायीहरुलाइ बिना धितो, सुलभ ब्याजदरमा, व्यावसायिक कर्जा प्रदान गरी उद्यमशीलता विकासमा काम गर्दै आएको छ ।यसले मुलुकभित्र स्वरोजगारका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ ।