सम्पत्ति बीमा गर्ने घटेपनि संकलित बीमाशुल्कमा ७३१ प्रतिशतको वृद्धि

काठमाडौं । व्यापार तथा वित्त क्षेत्रका हरेक इकाईहरू लगातारको मन्दी र अनेकौँ आर्थिक संकटका कारण सुस्ताए पनि निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा भने उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुन मसान्तसम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा बापतको बीमाशुल्क सङ्कलनको मात्रा नै अघिल्लो वर्षको तुलनामा  ७३१‍.१७ प्रतिशतले बढेको छ । पछिल्लो समय सम्पत्ति बीमा गर्नेहरूको सङ्ख्या घटेपनि संकलित बीमाशुल्कको आकार भने बढेको हो । गत आवको फागुन मसान्तको तुलनामा चालु आवको यस अवधिमा सम्पत्ति बीमाशुल्क रकम ५ अर्ब १७ करोड ३९ लाख रुपैयाँले बढेको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा सम्पत्ति बीमा बापत ५ अर्ब ८८ करोड १५ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ । विभिन्न कम्पनीहरूले तीन लाख २६ हजार ८१० बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क सङ्कलन गरेका हुन् । गत आवको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले तीन लाख ३० हजार ८८७ बीमालेख बिक्री गरी ७० करोड ७६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका थिए ।

यस्तो छ, सम्पत्ति बीमा गर्नेहरूको प्रदेशगत अवस्था

प्राधिकरण अनुसार चालु आवको फागुन महिनामा निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बापत गरिने बीमाबाट कोसी प्रदेशमा ८१ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरूले ५० हजार ८३५ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क सङ्कलन गरेका हुन । गत आवको फागुनमा कम्पनीहरूले कोसी प्रदेशबाट ११ करोड ३० लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका थिए ।

त्यस्तै, मधेस प्रदेशमा बीमा कम्पनीहरूले सम्पत्ति बापत गरिने बीमाबाट ५५ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरूले उक्त प्रदेशमा ३१ हजार ९५५ बीमालेख बिक्री गरेका छन् । गत आवको फागुनमा उक्त प्रदेशबाट ६ करोड ३० लाख रुपैयाँ बीमाशुल्क रकम सङ्कलन भएको थियो ।

त्यसैगरी, निर्जीवन बीमा कम्पनीहरूले बागमती प्रदेशमा सम्पत्ति बीमाबाट सबैभन्दा बढी बीमाशुल्क सङ्कलन गरेका छन् । कम्पनीहरूले सो प्रदेशबाट एक लाख २१ हजार ८३४ बीमालेख बिक्री गरी तीन अर्ब ३८ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । गत फागुनमा कम्पनीहरूले उक्त प्रदेशमा सम्पत्ति बीमाबाट ३९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्राधिकरणका अनुसार गण्डकी प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमाबाट २८ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ । यस अवधिमा कम्पनीहरूले ३५ हजार २८७ बीमालेख बिक्री गरेका छन् । गत आवको  फागुनमा कम्पनीहरूले सम्पत्ति बीमाबाट बीमाबाट तीन करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

त्यस्तै, लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरूले ५४ हजार ७४६ बीमालेख बिक्री गरी ६२ करोड ८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । उक्त बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ५४ करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको फागुनमा कम्पनीहरूले ७ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

त्यसैगरी, कर्णाली प्रदेशमा कम्पनीहरूले सम्पत्ति बीमाबाट सबैभन्दा कम ६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरूले ११ हजार ४३ बीमालेख बिक्री गरी सो बराबरको बीमा शुल्क सङ्कलन गरेका हुन् । गत आवको फागुनमा कम्पनीहरूले ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमाबाट १६ करोड ६० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा उक्त देशबाट २१ हजार ११० बीमालेख बिक्री भएको छ । गत आवको फागुनमा कम्पनीहरूले एक करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । गत आवको सोही अवधिको तुलनामा उक्त बीमाशुल्क रकम १४ करोड ६१ लाख रुपैयाँले बढी हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?