डाँका समूहले महोत्तरीमा एकै घरबाट ५० लाख लुट्यो, विशेष प्रहरी परिचालन

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–८, रतवारा गाउँमा गएराति एक घरमा डाँका समूहले लुटपाट गरेको छ । नेपाली समेत संलग्न आशंका गरिएको भारतीय डाँका समूहले बन्दुक देखाएर कुटपीट गर्दै ५० लाख रुपैयाँभन्दा बढीको धनमाल लुटेको बताइएको छ ।

स्थानीय जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाँकुको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लाखौँको लुटपाट गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । 

प्रहरीका अनुसार डाँकाहरूले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरिदिएका थिए । बाँकी कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ ।

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरूले भित्र छिर्ने बित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन् । डाँकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए ।

डाँकाहरूले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका पीडित चौधरीले बताएका छन्‌ ।

अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठवटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए । घटनाबारे प्रहरीलाई बिहान मात्रै जानकारी भएको बताउँदै उनले पीडित परिवारलाई भेटेर सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । थप अनुसन्धानका लागि विशेष प्रहरी परिचालन गरिने उनको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्