राजस्व चुहावट आरोपमा १० जनाविरुद्ध मुद्दा दायर, ११ करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट आरोपमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जिल्ला मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
राजस्व चुहावटको आरोप लाग्नेहरूमा मिश्रसहित सोही मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृत भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्यूटर अधिकृत कमोद तिवारी र तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्याय रहेका छन् ।
आर्थिक वर्ष २०७१।७२ मा कार्यालयबाट रजिष्ट्रेशन फाँट “ग” का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम (रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकर) नियमानुसार दाखिला नगरी हिनामिना गरेको उनीहरूविरुद्ध आरोप छ । आयोगले उनीहरूसँग ११ करोड १० लाख ३९ हजार रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना असुल गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरेको हो ।
मिश्रले एकै रजिष्ट्रेशन नम्बरको एकभन्दा बढी लिखत पारित गरेको र सो मध्ये बढी राजस्व रकम उठेको लिखतको विवरण रजिष्ट्रेशन दर्ता किताब प्रमाणित नगरेको पाइएको छ । उनले २ करोड ९ लाख ३१ हजार ६४७ रुपैयाँ राजस्व रकम चुहावट गरेको पाइएको आयोगको आरोप छ । उनीविरुद्ध सोही रकम बराबरको बिगो कायम गरी त्यसको दोब्बर जरिवाना माग गर्दै मुद्दा दायर गरिएको छ ।
सोही कार्यमा संलग्न तत्कालीन मालपोत अधिकृत भुपबहादुर बोगटीले एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ राजस्व रकम चुहावट गरेको पाइएको छ । उनीसँग पनि एक करोड ४९ लाख ३९ हजार १४५ रुपैयाँ बिगो कायम त्यसको दोब्बर जरिवाना माग गर्दै मुद्दा दायर गरिएको छ ।
तत्कालीन मालपोत अधिकृत गोपालबहादुर ढुंगानासँग ३५ लाख ४५ हजार ९५० रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना माग गरिएको छ भने तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्यालसँग १६ लाख ८१ हजार ६०० रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना माग गरिएको छ । तत्कालीन मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीसँग दुई लाख ४४ हजार ४६२ रुपैयाँ बिगो कायम गरी त्यसको दोब्बर जरिवाना माग गरिएको छ ।
त्यस्तै, सोही कार्यबाट मालपोत कार्यालय पर्साका तत्कालीन कम्प्यूटर अधिकृत कमोद तिवारीले एक करोड ४१ लख ४७ हजार १७१ रुपैयाँ राजस्व चुहावट गरेको पाइएको छ । उनीसँग सोहि रकम बराबरको बिगो र त्यसको दोब्बर जरिवाना असुल गर्नुपर्ने अख्तियारको दायर गरेको मुद्दामा उल्लेख छ ।
त्यसैगरी, मालपोत कार्यालय पर्साका तत्कालीन नायव सुब्बा किरणप्रसाद उपाध्यायले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ राजस्व रकम चुहावट गरेको पाइएको छ । उनीसँग सोही रकम बराबरको बिगो कायम गरी त्यसको दोब्बर जरिवाना असुल गर्नुपर्ने माग गर्दै अख्तियारले मुद्दा दायर गरेको छ ।
तर, उनको मृत्यु भइसकेको छ । मृत्यु भइसकेको व्यक्तिको हकमा समेत मुद्दा चलाउन र सरकारी वा निजी विगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था छ । यस अनुसार आयोगले उनको अंश खाने अंशियार छोराहरू राजकिशोर प्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायसँग बिगो असुलउपर गर्ने प्रयोजनको लागि उनलाई प्रतिवादी कायम गरेको छ ।