भूकम्प प्रभावितलाई सञ्चार मन्त्रालय र निकायका कर्मचारीले सहयोग गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूले भूकम्प प्रभावितहरूको राहतका लागि सहयोग गर्ने भएका छन् । मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले संयोग गर्ने निर्णय गरेको हो ।

जसअनुसार राजपत्राङ्कित विशिष्ट/प्रथम श्रेणी वा दश तह र सोभन्दा माथिका कर्मचारीले तीन दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी वा छ तहदेखि नौ तहसम्मका कर्मचारीले दुई दिन र सहायकस्तरका सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तलब सहयोग प्रदान गर्ने भएका छन् ।

कात्तिक महिनाको मासिक पारिश्रमिकबाट नै कट्टा हुने गरी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । यो सहयोगका अतिरिक्तसम्पूर्ण निकायहरूले आफूले सकेको र आफ्नो भूमिका क्षेत्रभित्र पर्ने एवम् थप योगदान गर्न सक्षमता एवम् इच्छा भएमा आर्थिक, भौतिक लगायतका अन्य सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा महाशाखा प्रमुख, विभागका महानिर्देशक र मन्त्रालयका शाखा प्रमुख तथा निकायका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकले सो क्षेत्रमा सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिने र सो को अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले भूकम्पमा परी मृत्युवरण गरेका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र एवम् पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?