बैंकमा अधिक तरलता भएपछि एकसातामै दोस्रो पटक बजारबाट पैसा उठाउँदै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ उठाएन लागेको छ । राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको सूचना प्रकाशित गरेको हो ।

बोलकबोल विधीबाट कम ब्याजदर प्रस्ताव गर्ने बैंकबाट बुधबार (आज) राष्ट्र बैंकले निक्षेप संकलन गर्नेछ । राष्ट्र बैंकले तोकेको निक्षेप संकलन दर भन्दा अन्तर बैंक ब्याजदर कम भएपनि एक सातामै दोस्रो पटक राष्ट्र बैंकले बजारबाट पैसा उठाउन लागेको हो ।

गत मंसिर ६ गते बोलकबोल विधीबाट २.१७ प्रतिशत देखी १.९६ प्रतिशत ब्याज दिँदै ७ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गरेको थियो । राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ उठाउँदा समेत अन्तर बैंक ब्याजदर २ प्रतिशत भन्दा मुनि रहेपछी राष्ट्र बैंकले दोस्रो पटक बजारबाट ७ दिन अवधीका लागि निक्षेप संकलन गर्न लागेको हो ।

मंसिर ६ गते निक्षेप संकलनपछि पनि मंसिर १० गते अन्तर बैंक ब्याजदर १.९४ प्रतिशत थियो । पछिल्लो ३ महिनादेखी अन्तर बैंक ब्याजदर निक्षेप संकलन दरभन्दा कम हुँदा समेत राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन नगर्दा आलोचना हुँदै आएको थियो ।

ब्याजदर करिडोर सम्बन्धी कार्यबिधीअनुसार अन्तर बैंक ब्याजदर बैंक दर भन्दा बढी भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नु पर्ने र निक्षेप संकलन दर भन्दा अन्तर बैंक ब्याजदर कम हुँदा निक्षेप संकलन गर्नु पर्छ ।

राष्ट्र बैंकका अनुसार गत मंसिर ४ गते एक बैंकले अर्को बैंकलाई कर्जा दिन प्रयोग हुने अन्तर बैंक ब्याजदर २.५३ प्रतिशत थियो । हाल राष्ट्र बैंकले निक्षेप संकलन दर ४.५ प्रतिशत निर्धारण गरेको छ । जसले गर्दा राष्ट्र बैंकलाई बजारबाट निक्षेप संकलन गर्न दबाव थियो ।

मंसिर ६ गते राष्ट्र बैंकले चालू आर्थिक वर्षमा पहिलो पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दे बाणिज्य बैंकबाट पैसा उठाएको थियो । सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न दिएको सुविधा नहटाएको अवस्थामा फेरी पनि राष्ट्र बैंकले बजारबाट पैसा उठाउनु पर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

कोरोना महामारीको क्रममा निक्षेप संकलन दर भन्दा अन्तर बैंक ब्याजदर कम हुँदा समेत राष्ट्र बैंकले बजारबाट पैसा नउठाउँदा बैंक वित्तीय संस्थाले कमसल प्रकृतिको कर्जा लगानी गरेका थिए । ‘मौद्रिक नीतिको पहिलो समिक्षाबाट अन्तर बैंक ब्याजदर घटाएपनि अहिले २ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर निकै कम हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यदी हामीले बजारबाट निक्षेप संकलन गरेनौं भने ब्याजदर राष्ट्र बैंकले निर्धारण रहेको करिडोर भन्दा बाहिर जान्छ ।’

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन (बजारबाट तान्न) गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गर्ने गर्छ । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ, जसबाट तरलता प्रशोचन हुन जान्छ ।

बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ । दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तर बैंक ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने विधि ब्याजदर करिडोर प्रयोगमा ल्याइएको थियो ।

यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गित गर्ने गर्दछ । अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३-७४ को मौद्रिक नीतिमा ब्याजदर करिडोरको व्यवस्था गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?