प्रेस स्वतन्त्रताबिनाको लोकतन्त्र अपूर्ण : सञ्चारमन्त्री शर्मा

काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता बिनाको लोकतन्त्र अपूर्ण हुने बताएकी छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिदै उनले कुरा बताएकी हुन।

उनले अभिव्यक्ति स्वतन्त्रताको निम्ति आफ्नो अमूल्य योगदान र बलिदान दिनु भएका सहिदप्रति भावपूर्ण  श्रद्धाञ्जली व्यक्त गर्दै घाइते, अपाङ्ग लगायत प्रेस स्वतन्त्रताको निम्ति योगदान गरेकाप्रति सम्मान गरिन्।

सन् १९९३ मा भएको संयुक्त राष्ट्र संघको साधारणसभाको घोषणा पश्चात् युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ।

संविधानको प्रस्तावनामै राखिएको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र प्रेस स्वतन्त्रताको निम्ति थप सुनिश्चितता गर्ने गरी विगत एक वर्षदेखि सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काममा आफू लागिरहेको बताइन् ।

सञ्चारसम्बद्ध संस्था र यो क्षेत्रका विज्ञको सुझावका आधारमा कानुनको मस्यौदा बनाउने र नागरिक तथा  सरोकारवालाको लिएर पारदर्शी र लोकतान्त्रिक विधि र पद्धतिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको बताएकी छिन् ।

उनले आमसञ्चार प्रवर्द्धनमा तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसद दर्ता भएको र आमसञ्चार विधेयक पूरा हुने प्रक्रियामा रहेको बताइन्।

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा सरकार दृढ रहेको, प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका ‘डिजिटल’लगायतका चुनौतीलाई कम गर्न ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ जारी गरिएको, नागरिकले सत्य सूचना जान्न पाउने अधिकार स्थापित गर्न साइबर सचेतनाका कार्यक्रममा जोड दिदै आएको उल्लेख गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट नियालिरहेको बताइन्।

पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाको सवालमा सरकारले कुनै सम्झौता नगर्ने बताउदै  विभिन्न सञ्चार गृहमा देखिका श्रम समस्या समाधानका लागि सहजीकरण गर्न र कानुनी प्रक्रिया अनुरुप श्रमजीवी पत्रकारको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध रहेकोे बताउदै आम सञ्चार जगतलाई विश्व प्रेस दिवसको शुभकामना दिएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्