लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार हो सूचनाको हक : राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १७ औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले  यस्तो बताएका हुन् ।

“लोकतन्त्रमा शासन प्रणालीलाई  पारदर्शी तथा जवाफदेही बनाउने, वेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो”, उनले भने , “विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागिता लोकतन्त्र सदृढीकरणका लागि अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शीता नै मुख्य विषय हो, जुन सूचनाको हकले नै प्रत्याभूत गर्नेछ”,। 

लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्वपूर्ण माध्यमको रुपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो ।

उनले  सूचनाको हकले नागरिकको सशक्तिकरण मात्र होइन सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने  बताए ।  जनताले आफूले तिरेको कर कँहा, कसरी खर्च भैरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ थियो । 

लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो भन्दै राष्ट्रपति पौडेलले सूसुचित नागरिकमात्रै सर्वशक्तिमान हुन्छ र उसको स्वतन्त्रताको सर्वोच्चता स्थापित हुन्छ भन्ने मूल मान्यता र दर्शनका आधारमा लोकतान्त्रिक व्यवस्थामा जनतालाई शासन प्रणालीबारे सबै सूचना जान्न पाउने मौलिक हकको व्यवस्था गरिएको बताए ।।  

संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरेको छ । 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्