सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : मन्त्री शर्मा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रुपमा स्थापित गर्न आवश्यक रहेको बताएकी छिन् ।

राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचनाको हक सार्वजनिक निकायले चाहेका बेला दिने ऐच्छिक विषय नभई नागरिकले मागेका बेला दिनै पर्ने दायित्व भएको बताएकी हुन् । “संविधानको मौलिक हकको कार्यान्वयन गर्न सूचनाको हकको प्रचलनलाई बढाएर लैजानुपर्नेछ । यसमा सरकार दृढ र प्रतिबद्ध छ । हरेक सरकारी निकायमा जनताले मागेका सार्वजनिक सरोकारका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गरिएको छ”, मन्त्री शर्माले भनिन्  “सार्वजनिक सूचना सञ्चारमाध्यमबाट प्रवाह गर्न प्रवक्ताको व्यवस्था गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीयतहले समेत यो अभ्यास गरिरहेका छन् । नागरिकले सूचना माग्न र सरकारी निकायको कार्यसम्पादन प्रभावकारी बनाउनकै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत हेलो सरकार सञ्चालनमा पनि ल्याएको छ ।”

सो अबसरमा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्न गठित आयोगले अहिलेसम्म निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारकोतर्फबाट आभार व्यक्त गर्दै सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा आगामी दिनमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ । संवैधानिक हकको प्रचलनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएअनुसार सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलनका लागि आयोगको स्थापना गरिएको हो । विसं २०६५ वैशाख २२ गते आयोगको स्थापना भएको हो । 

 कार्यक्रममा सूचनाको हकसम्बन्धी उत्कृष्ट काम गर्ने सूचना अधिकारी र अभियन्ताहरूलाई पुरस्कृत गरिएको थियो  ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्