सामुदायिक रेडियोको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

फाइल तस्विर
काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन् । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथाको २८औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।
“दक्षिण एसियाकै पहिलो स्वतन्त्र, सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम १०२ थोप्लो ४ मेगाहर्जको २८औँ स्थापना दिवसको जानकारी पाउँदा आफूलाई खुसी छ । रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको छ । साथै सूचना सम्प्रेषणका क्षेत्रमा पुर्याएको योगदान उदाहरणीय रहेको छ”,उनले भने ।
सन्देशमा उनले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, द्वन्द्वको व्यवस्थापन, शान्ति स्थापना, समतामुलक समाज निर्माण, सामाजिक न्याय, लोकतान्त्रिक संस्कारको प्रवर्द्धन, विधिको शासन, दिगो विकास, वातावरण संरक्षण, मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत क्षेत्रमा रेडियोले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरेका छन् ।
मुलुकले सामना गरिरहेका विद्यमान समस्या तथा तिनको समाधानका उपायसमेत जनतासम्म पुर्याउन रेडियो सगरमाथाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देसमा उल्लेख छ । रेडियो सगरमाथाले आज जेठ ९ गते आफ्नो २८औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ ।