सामाजिक सुरक्षा कोषमा आबद्धका वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधोपचार सुविधा

काठमाडौं, १७ जेठ। सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक क्षेत्रमा रहेका तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि अब औषधोपचार सुविधा पाउने भएका छन् ।
यसअघि आबद्ध भएका श्रीमान् वा श्रीमतीलाई मात्र यो सुविधा प्रदान गरिन्थ्यो । अबदेखि कोषले आबद्ध भएकाका छोराछोरीलाई समेत समेटेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बिहीबार विराटनगरमा भएको श्रमाधान रोजगार मेलाको अवसरमा कोषद्वारा विस्तारित यो सुविधाको औपचारिक घोषणा गरेका हुन् ।
कोषले आजैदेखि लागू हुने गरी अनौपचारिक तथा वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि औषधोपचार सुविधा प्रदान गर्ने कार्यविधि संशोधन गरेको छ । जसअनुसार श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्षमुनिका छोराछोरीले वार्षिक १ लाखसम्मको औषधि उपचार गर्न सक्नेछन् ।
कोषका निर्देशक उत्तमराज नेपालका अनुसार उपचार सुविधा पाउन योग्य समयावधिलाई पनि ९ महिनाबाट घटाएर ३ महिनामा झारिएको छ ।