आईटी क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन आवश्यक वातावरण निर्माण गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पुनले आईटी क्षेत्रमा प्रतिस्पर्धाको आधार देखिएको भन्दै राज्यले उच्च प्राथमिकता दिने बताए ।

आगामी आवको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको भन्दै मन्त्री पुनले भौगलिक वस्तुस्थिति र प्राविधिक जनशक्तिको विकासले नेपाल प्रतिस्पर्धीको रुपमा विकास हुँदै गइरहेको बताए।

‘सरकार यी सम्भावनालाई स्वीकार गर्दै नीतिगतदेखि सबै खालको वातावरण बनाउन तयार छ,’ उनले भने, ‘बजेटले पनि आर्थिक सुधारको नीति अगाडि सारेको छ। नयाँ आविष्कार गर्ने वातावरण राज्यले बनाउनेछ । अवसरको समानता कायम गर्नेछ । नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्नेछ ।’

मन्त्री पुनले हरेक काममा स्मार्टनेस हुनुपर्नेमा जोड दिँदै बजेटमा प्रतिस्पर्धी सुधारको प्रस्ताव गरिएको उल्लेख गरे। मन्त्री पुनले आर्टिफिसियल इन्टलिजेन्सलाई मानव जीवनको सहयोगीको रुपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

‘एआईसँग दुनियाँ नै आतंकित छ । यसका संस्थापक नै एआई आविष्कार गरेर गल्ती गरे कि भन्ने पनि आइरहेको छ । संस्थापकहरुले एआईको आविष्कार र प्रयोगले मानव जीवनको अन्तको सुरुवात गर्छ कि भन्ने पनि छ । तर यो हाम्रो जीवनको पर्याय बनिसकेको छ । मानव जीवनको सहयोगी बन्छ भन्ने अपेक्षा राखौं,’ उनले भने।

एआई अनुसन्धानकर्ता डा. विवेक पौडेलले एआईलाई विविध बनाउन जरुरी रहेको बताए । ‘विविधता नहुँदा समाजमा ध्रुवीकरण हुने, घृणा बढ्ने हुन्छ । चुनावको मुखमा राजनीतिक, सामाजिक र आर्थिक रुपमा असर पार्छ,’ उनले भने, ‘विविधताका लागि डेटा जरुरी छ । हामीसँग छैन । ठूलो कम्पनीसँग मात्रै भयो भने विविधता हुँदैन । हाम्रो समाज र विविधतालाई प्रतिनिधित्व गर्न सकिँदैन ।‘

पौडेलले सुशासनको सवालमा पनि एआई मोडलको प्रयोग गर्न सकिने बताए । ‘कृषि, जमिन, जंगल, प्राकृतिक प्रकोपको पूर्वानुमान, कहाँ खतरा छ, त्यसको मोडल बनाउन सकिन्छ । नेपालका वैज्ञानिक मिलेर विकास गर्न सकिन्छ । गाउँ गाउँमा स्वास्थ्य संस्था पुर्याउन गाह्रो छ । तर हामीसँग डेटा भयो भयो भने डाक्टरबाहेक डाक्टरको असिस्टेन्सको रुपमा विरामीको कन्डिसन हेरेर सुझाव दिन सक्छ,’ उनले भने।

यसका लागि नीतिगत र संरचनागत विकास गर्नुपर्ने उनको भनाइ थियो । ‘पहिलो डेटा, शब्दकोष बनाउन पर्यो । बोलीको व्यवहारको तथ्यांक राख्नुपर्यो । दोस्रो नीतिगत व्यवस्था गर्नुपर्यो । तेस्रो आफ्नो ग्राउण्ड रियालिटी बनाउनुपर्यो । यसमा ढिलो भइसक्यो । नयाँ पुस्ताको जनशक्ति र प्रविधि प्रयोग गरेर अर्थतन्त्र, रोजगारीमा फड्को मार्ने अवसर छ । एआईको विकासमा जोडियौ भने धेरै काम गर्न सक्छौं । मिलेर अगाडि बढौं,’ उनले भने।

डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले राज्यको ध्यान नपुग्दा सूचना प्रविधि क्षेत्रमा नेपाल पछि परेको बताए । ‘१९९५ देखि २००५ सम्मको समय फर्केर हेर्दा संसारका धेरै देश इन्टरनेट र संरचना प्रयोगको हिसाबले पछाडि थिए । नेपाल त्यतिबेला अगाडि थियो । भारतपछि नेपालमा नेपालन्युज डटकम अनलाइनको रुपमा सुरु भइसकेको थियो,’ उनले भने, ‘तर इन्टरनेटको विकास भइसकेपछि अनलाइन व्यापार फस्टायो । त्यतिबेला हामी पछाडि पर्यो । हामीले यसमा ध्यान दिन सकेनौं ।

सम्मेलनमा च्याट जिपिटीले स्वागत मन्तव्य राखेको थियो । एआईमार्फत सम्मेलनसम्बन्धी जानकारीमूलक सूचना पढिएको थियो।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्