नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन बालेनको आग्रह

काठमाडौँ : काठमाडौँ महानगरका मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।
उनले भनेका छन्,'३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन । काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।'
आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका हुन् ।