सेयरवजारको बढ्ने क्रममा ब्रेक, नेप्सेमा २७ अंकको करेक्सन, सवा १६ अर्ब बढीको कारोबार

काठमाडौं : लगातार उच्च अंकले बढेको सेयरवजारमा आज भने ब्रेक लागेको छ । बजार खुलेदेखि उच्च उतारचढाव देखिएको सेयरवजार अन्तत २५३६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक २७.३२ अंक घटेको हो । यो साउन महिनामा पहिलो दिन बजार घटेको हो ।
कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो भने दुईको स्थिर रह्यो । यस दिन कुल १६ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम ३ बर्ष यता कै उच्च हो ।
आज फाइनान्स र होटल तथा पर्यटनबाहेक सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स समूह होटल तथा पर्यटन समूहको सूचक बढेको छ ।
बैंकिङ १७, विकास बैंक २९, हाइड्रोपावर ५०, जीवन बीमा ३८, उत्पादन ९७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा १८, अन्य ३६ र ब्यापार समूह ११९ अंक घटे ।
समग्र बजार घट्दा पनि तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । बोटलर्स नेपाल तराई, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.६, आरम्भ चौतारी लघुवित्तको ९.१ प्रतिशत मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, माथिल्लो तामाकोशी, हिमाल दोलखा हाइड्रोपावर र सानिमा जीआईसी इन्स्योेरेन्स क्रमशः अगाडि रहे ।