गण्डकीमा सार्वजनिक यातायात बन्द, जनजीवन प्रभावित

काठमाडौं : गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएका छन् । राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन नगरेकोे भन्दै आइतबार विहानैदेखि सार्वजनिक यातायात ठप्प पारेका हुन् ।

शनिबार विज्ञप्ती जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीले सार्वजनिक सवारी घर र ग्यारेजमा राखेर आन्दोलनमा सारिक हुन व्यवसायी र मजदुरलाई आह्वान गरेको थियो । दुई पांग्रे र चार पांग्रे सवारीलाई राइड शेयरिङ सञ्चालन गर्न नदिन यातायात व्यवसायीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बिहीबार ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।

दुई पांग्रे र चार पांग्रे निजी सवारीसाधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने व्यवसायीको माग हो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा सार्वजनिक सवारी नचल्दा सडक सुनसान छ । निजी सवारी मात्रै चलेका छन् । सार्वजनिक यातायात चढ्ने यात्रु मर्कामा परेका छन् ।

गण्डकी प्रदेशबाहिर जाने सवारी भने छिटफुट चलिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्