बढ्दो युवा पलायन कसरी रोक्ने  ?

हरिसिंह केसी

वैदेशिक रोजगार विभागको तथ्याङ्कले आर्थिक वर्ष ०७९/८० मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ७ लाख ७१ हजारभन्दा बढी देखाउँछ । यसको दोब्बरभन्दा बढी नेपाली श्रमशक्ति अनौपचारिक रूपमा असङ्गठित काम गर्न भारत र अन्य देशमा पुगेका छन् । रोजगारीको खोजीमा सन् २०२३ मा आठ लाख आठ हजार युवाले नेपाल छाडे । त्यही वर्ष अध्ययन अनुमति लिएर १ लाख ८ हजार ५ सय ४२ विद्यार्थी बाहिरिए । 

युवा पलायन कसरी रोक्ने ?

मानिसले गरेको भौतिक वा सांस्कृतिक विकास भन्नु नै अवसरको खोजी र त्यसको परिणाम हो । उद्भवदेखि नै मानिस कहीं पनि स्थिर भएर बसेको छैन र बस्दैन पनि । युवा तथा आर्थिक रूपमा सक्रिय जनशक्तिलाई आह्वान र आग्रहले मात्र मुलुकमा बसाइरहन सकिँदैन तर अवसरले बाँध्न सकिन्छ ।

विश्वले गरेको विकाससँग नेपाली नयाँ पुस्ता केही न केही परिचित छ । ऊ पनि त्यो अवसर चाख्न चाहन्छ । पछिल्लो समय उत्पादनका तरिका र जीवन निर्वाहमा व्यापक परिवर्तन आएका छन् । कृषिले मानिसलाई कम्तीमा पनि एक बाली पाकुन्जेल ९६ महिना० एक ठाउँमा स्थायी बसोबास गराउँथ्यो । आज साप्ताहिक रूपमा तलब लिएर ‘विकेन्ड’ (हप्ता समाप्ति) मनाउन अभ्यस्त हुँदै गरेको पुस्ता परीक्षा दिएपछि नतिजा कुर्ने अवस्थामा पनि छैन, विदेश जान खुट्टा उचाल्छ ।

 युवा तथा आर्थिक रूपमा सक्रिय जनशक्तिलाई आह्वान र आग्रहले मात्र मुलुकमा बसाइरहन सकिँदैन तर अवसरले बाँध्न सकिन्छ ।

छोराले मुलुकलाई कर तिर्ने तर बाबु बिरामी हुँदा उपचार नपाउने हो भने कुनै युवा नेपालमा बस्दैनन् ।

विदेश गएर २५ वर्ष काम गरे जीवनका अन्तिम दिन आनन्दपूर्ण तरिकाले बिताउन सकिन्छ तर नेपालमा त्यस्तो अवसर छैन भने पलायन रोकिँदैन ।


अवसर, पलायन, बसाइँसराइँ खासमा अन्तर्राष्ट्रिय मुद्दा हुन् । वर्तमान विश्व बजारमा मानिस ‘वस्तु’ भएको छ । देशले आफ्नो आवश्यकताअनुसार वस्तु आयात, निर्यात गर्छ । खुला बजारले यस्तो आयात, निर्यातलाई अझ सहज र स्वाभाविक बनाएको छ । बेलायतलाई नर्स आवश्यक पर्‍यो, नेपालबाट आयात गर्‍यो । उनीहरूको चुम्बकीय तत्त्व (पुल फ्याक्टर) सँग असम्बद्ध भएर कुनै पनि व्यक्ति नेपालमै बस्छु भन्न सक्दैन ।

अवसर सिर्जना गर्ने प्रमुख एजेन्ट सरकार हो । सरकारको सहयोगमा निजी क्षेत्र, युवापुस्ता, बौद्धिक तथा अनुभवी वर्गले अवसर सिर्जना गर्छन् । नेपालले उत्पादनमूलक उद्योगमा लगानी गरेर खुला र प्रतिस्पर्धी बजारमा टिक्न सक्ने अवस्था छैन । त्यसैले पर्यटन, जलस्रोत जडीबुटीजस्ता सुरक्षित क्षेत्रमा लगानी सुरक्षित गर्न सकिन्छ, जसबाट रोजगारी र आम्दानी हुनेछ र युवा पलायन रोक्न सकिन्छ । नेपालले उत्पादनमा भन्दा सेवा क्षेत्रमा लगानी गर्ने र त्यसका लागि युवालाई निर्बाध ऋण, अनुदान, सामूहिक, ऋणजस्ता अवसर दिन सक्छ । कुनै दिन पठाओ र फुडमान्डुजस्ता सेवा परिकल्पना गरिएको थिएन ।

आज यी लोकप्रिय छन्, युवालाई रोजगारी दिएका छन् । यस्ता सेवालाई सरकारले अझै उपेक्षा गरेको छ । व्यावसायिक सुरक्षा दिइएको छैन । यस्तै नयाँ–नयाँ सेवा थालनी गर्न सकिन्छ । ‘मोटल’ अर्को नमुना हुन सक्छ । होटल संस्कृतिलाई आमस्तरमा लैजान सकिन्छ । गुणस्तरीय र चित्तबुझ्दो मूल्यमा होटलको सेवा प्रवाह गरेर ७५ प्रतिशत परिवारलाई होटलको खानामा ल्याउन सकियो भने कति युवाले रोजगारी पाउलान् रु सूचना प्रविधिका काम घरैमा बसेर नेपाली जनशक्तिले गर्न सक्छ र विश्व बजारलाई आकर्षित गर्न सक्छ ।

कृषि वा सेवामूलक क्षेत्रमा लगानी गरिएको रकम, त्यसको समय, श्रमको मूल्य राखेर लगानीमा युवालाई ल्याउन सकिन्छ । कुनै पनि अवस्थाले लगानी (रकम, समय, श्रमको मूल्य) डुब्दैन, यो तलब जत्तिकै सुरक्षित छ भनेर विश्वस्त बनाउनुपर्छ । निर्ब्याजी सामूहिक तथा ससर्त अनुदान, ऋण तथा प्रोत्साहन दिएर लगानीको वातावरण बनाउन सक्नुपर्छ । नीति मात्र होइन, कार्यक्रम पनि चाहिएको छ ।

आर्थिक रूपमा सक्रिय जीवन बिताउने, जनसाङ्ख्यिकीय लाभांश दिने वर्गलाई राज्यले कुन अवस्था र उमेरमा कति सामाजिक सुरक्षा दिने भनेर स्पष्ट नगरेसम्म युवा पलायन रोक्न सकिँदैन । श्रमशक्तिको परिवार तथा दरसन्तानको सामाजिक सुरक्षा निम्ति सरकारले सुरुमै यति आम्दानी गर्ने, यति कर तिर्नेलाई यस्तो सामाजिक सुरक्षा दिइनेछ भनेर घोषणा गर्नुपर्छ ।

छोराले मुलुकलाई कर तिर्ने तर बाबु बिरामी हुँदा उपचार नपाउने हो भने कुनै युवा नेपालमा बस्दैनन् । विदेश गएर २५ वर्ष काम गरे जीवनका अन्तिम दिन आनन्दपूर्ण तरिकाले बिताउन सकिन्छ तर नेपालमा त्यस्तो अवसर छैन भने पलायन रोकिँदैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?