नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

काठमाडौं : नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त हुनु भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो । कार्यवाहक प्राचार्य हुनु अगाडी भण्डारीले कलेजको सह–प्राचार्य र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागको प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए ।
सन् २००१ देखि नै कलेजमा आबद्ध भण्डारीले पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा मास्टर्स गरेका छन् । इन्जिनियरिङ विधालाई सर्वप्रिय बनाउन र कलेजको शैक्षिक, प्रशासनिक क्षमता अभिबृद्धि गर्न गराउन १० महिनादेखि कुशलतापूर्वक कार्यवाहक प्राचार्यको भूमिका निर्वाह गर्नुभएका भण्डारीलाई नै प्राचार्य नियुक्त गरिएको नेक सञ्चालक समितिका अध्यक्ष जीवन खत्रीले बताए । ‘कलेजको शैक्षिक कृयाकलाप र गरिमालाई खस्किन नदिन, कलेजका समस्याहरुलाई समाधान गर्न उहाँ सक्षम हुनुहुन्छ भनेर नै हामीले सबै प्रकृया पुरा गरेर प्राचार्यमा नियुक्त गरेका छौं । यो पदमा रहेर उहाँले सबै पक्षलाई समेटेर कलेजको विकास, विद्यार्थीको हित र शैक्षिक कृयाकलाप गर्नुहुनेछ भन्नेमा हामी विस्वस्त छौं ।’ नवनियुक्त प्राचार्य भण्डारीलाई नियुक्ति पत्र दिँदै अध्यक्ष खत्रीले कलेजको सर्वाङ्गिण विकासका लागि जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्राचार्य भण्डारीले कलेजको शैक्षिक स्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए ।
कार्यक्रममा कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको बताए ।
त्यस्तै आजै प्राचार्य भण्डारीको अध्यक्षतामा बसेको दैनिक कार्य सञ्चालन समितिले इनोभेसन एण्ड कम्युनिटी म्यानेजमेन्ट विषयक नयाँ कोर्ष ल्याउने निर्णय पनि गरेको छ । समितिले प्राचार्य भण्डारीले प्रस्ताव गरेको नयाँ कोर्ष तयार पार्नका लागि कार्यविधि बनाउन कलेजका विभागीय प्रमुखहरुलाई समेत निर्देशन समेत दिइसकेको छ । नयाँ कोर्षले विद्यार्थीहरुलाई समुदायस्तरमै गएर काम गर्न र आत्मनिर्भर बनाउन टेवा दिने अपेक्षा गरिएको छ ।
यसैगरी बैठकले महिनाको एक पटक कलेजमा अध्ययनरत विद्यार्थीहरुका समस्या र गुनासाहरु सुन्न छलफल अन्तरक्रिया गर्ने र त्यसबाट निस्किएका विषयहरु हल गरी अगाडी बढ्ने निर्णय पनि गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज इन्जिनियरिङ शिक्षाका लागि नेपालकै अग्रणी संस्थाका रूपमा दर्ज छ ।