स्वास्थ्य बिमा कार्ड देखाएर सूचिकृत अस्पतालबाट सेवा लिने व्यवस्था गरौं : प्रमुख सचेतक बर्तौला

काठमाडौं : नेकपा एमालेले स्वास्थ्य बिमा कार्डमार्फत् देशमा सूचिकृत अस्पतालहरूबाट स्वास्थ्य सेवा पाउनुपर्ने अवस्थाको सुनिश्चितता गरिनुपर्ने माग गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बिमा कार्ड देखाएर सूचिकृत अस्पतालबाट बिरामीहरूलाई स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
'बिमा कार्ड देखाएर वाफत सूचिकृत सबै अस्पतालबाट जहाँसुकै भएपनि बिरामीहरूले स्वास्थ्य बिमामार्फत सेवा पाउने सुविधाको सुनिश्चितता गर्नुपर्ने आवश्यक छ,उनले भने, यसका लागि सभामुखमार्फत् नेपाल सरकार र स्वास्थ्यमन्त्रीको गम्भीरताको साथ ध्यानाकर्षण गराउन चाहन्छु।,
कतिपय अस्पतालमा राज्यको तर्फबाट स्वास्थ्य बिमा वाफत रकम समयमा भुक्तानी नहुँदा बिरामीहरू उपचार सेवाबाट बञ्चित हुनुपरेको गुनासो आउने गरेको उनको भनाइ छ।
उनले स्वास्थ्य बिमा कार्यक्रम ७५३ पालिकाहरूमा विस्तार भएको र झन्डै ८० लाख मानिसले लाभ लिइरहेको पाइरहेको बताए।