काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन हुने
काठमाडौं : काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ। विश्वविद्यालय र बहुजातीय साहित्य सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्डको संयुक्त आयोजनामा २०८१ असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म सम्मेलन हुन लागेको हो ।
समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यकासाथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहनेअन्तर्राष्ट्रिय संस्था मेलो सन् १९९७ मा स्थापना भएको विद्वत्(सञ्जाल हो । सम्मेलनमा सहभागी हुन प्रा. मञ्जु जाइड्कासहित भारतबाट विद्वानहरूको टोलीसहित नेपाल आइसकेका छन् ।
साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय र एक सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहने छन् भने करिब एक सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन्। सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. अम्मराज जोशीले मुख्य सम्बोधन गर्नेछन्।
सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन्।प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन-बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप-शिर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ।
सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरू समेतसमेटिने आयोजकले जनाएको छ
सम्मेलनले साहित्य, संस्कृति लगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव,संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ। यस्तै सम्मेलन’ले देश(विदेशमा रहनुहुने विद्वानहरूलाई छलफलमा समेटेर नयाँ प्रवृत्तिहरूबीचदेखापर्ने बौद्धिक जिज्ञासा, अन्तरक्रिया र बहसको संस्कृति विकास गर्दै विद्यमान विचारधारा र साहित्यिक सिद्धान्तहरूको दायरालाई मजबुत बनाउने विश्वास लिइएको छ।