सूचनाको हक पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाको हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए का छन्। सूचनाको हक राष्ट्रिय महासंघको आयोजनामा दाङको लमहीमा सुरु भएको सूचनाको हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार खुला किताब भएको, सरकारले गर्न हरेक कामहरु पारदर्शी हुने स्पष्ट पारेका हुन् ।
उनले भने, 'सरकार खुला किताब बनेर अघि बढ्छ । ढुक्क हुनुस, सरकारले गर्ने हरेक काम पारदर्शी हुन्छ ।' समाज रुपान्तरण गर्न, बेथिति सुधार गर्न, सुशासन कायम गर्न सूचनाको हक कार्यान्वयन जरुरी रहेको उनको भनाइ छ । प्रदेश सरकारले कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गरेर सूचना अधिकारी अनिवार्य तोक्ने, तस्बिर सहित फोन नम्बर राख्न, वेवसाइडमा पनि सुचना राख्न भनिसकेको मुख्यमन्त्री आचार्यले जानकारी दिए ।
यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश मातहतका कार्यालयले सूचना दिन आनकानी गरे सिधै मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आग्रह गरे। सूचना प्राप्त गर्न सक्नुभएन भने सिधै मुख्यमन्त्री कार्यालयका सूचना अधिकारीसँग सम्पर्क गर्ने जनाउँदै उनले भने , 'सूचनामा सबैको समान पहुँच पुर्याउन हामी जिम्मेवार छौं ।'
सूचनाको हक राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमिद बाग्चनले सूचनाको हक कार्यान्वयनले राज्यसँग नागरिकलाई नजिक बनाउने भएकाले यसको पूर्ण कार्यान्वयनमा जोड दिए । उनले सुशासन कायम गर्दै भष्ट्राचार निवारण गर्न सूचनाको हक प्रयोगले टेवा पुर्याउने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सबै जिल्लाका सूचनाको हक अभियन्ताहरुको सहभागीता छ ।