राजमार्गमा यात्रु ठग्ने होटल बन्द गर्ने उद्योगमन्त्री भण्डारीको चेतावनी
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राजमार्ग छेउका यात्रुलाई ठग्ने होटललाई बन्द गर्ने चेतावनी दिएका छन्। यस्ता होटलले आफूहरूमाथि लुट मचाएको गुनासो यात्रुले गरेपछि यस्तो निर्णय लिनुपरेको मन्त्री भण्डारीले बताएका छन्।
मन्त्री भण्डारीले देशैभरका मुख्य राजमार्गका होटलबाट यात्रुले निकै सास्ती खेपिरहेको गुनासो पछिल्लो समय झनै बढेको बताए। उनले यसअघि नै होटल तथा रेष्टुराँ व्यवसायीलाई सचेत गराएको जानकारी दिएका छन्।
‘मुख्य राजमार्गमा होटलले यात्रुमाथि लुट मचाएका छन्। म यसमा कारबाही गर्ने तयारीमा छु। होटलहरूको मनपरी छ, सार्वजनिक यातायात सञ्चालकको पनि मिलेमतो प्रस्टै देखिन्छ। यो सह्य हुँदैन, एकान्त वा जङ्गलमा होटल खोलेर यात्रु ठग्ने कुरा पाच्य छैन। मन्त्रालय कारबाहीका लागि अगाडि बढ्नुपर्ने अवस्था आइसक्यो’‚ मन्त्री भण्डारीले भने।
उनले अब राजमार्गमा होटल चलाउने भए प्रस्ट रूपमा सबैले देख्ने गरेर मूल्य सूची राख्नुपर्ने बताए। मूल्य सूची नराखेर यात्रु ठग्ने मनसाय भए उनले त्यस्ता होटल बन्द गर्ने चेतावनी दिए।
मन्त्री भण्डारीले भने, ‘खाना तथा नास्ता खाने ठाउँमा राजमार्गका होटलवाला र यातायात सञ्चालकले चर्को मूल्य असुलेर नराम्रो व्यवहार गर्ने गरेको जनगुनासो मन्त्रालयमा आएको छ, हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।’
वाणिज्य मन्त्रालय र मातहतका निकायमा राजमार्गका होटलमा यातायात सञ्चालक तथा होटलहरूको मिलेमतोमा यात्रुमाथि लुट मचाएको भन्ने व्यापक जनगुनासो बढेकाले छिट्टै बैठक गरिने बताइएको छ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहनेछन्।