आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल

काठमाडौं : पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ ।

प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट स्पोर्टस् क्लब, वागलुङ विच प्रतिस्पर्धा हुने भएको छ भने महिला तर्फ धादिङ स्पोर्टस् क्लब र नदीपुर एफसी, पोखरा विच छन्त्याल समाजको खेल मैदानमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी गराए ।

सोमबार भएको सेमिफाइनलको पुरुष तर्फ पहिलो सेट १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो १९–२५ ले गुमाएपछि पुन चौथो २७–२५ र पाँचौ सेट १५–११ जित्दै फाइनलको लागि आफ्नो नाम दर्ता गर्न पुगेको थियो ।

त्यसैगरी सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनले नेपाल युथ स्पोर्टस क्लब जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको छ ।

एपिएफले नेपाल युथ स्पोर्टस क्लबलाई २५–२२, २५–२३ र २७–२५ ले पराजित गर्दै फाइनलको लागि आफ्नो नाम पक्का गरेको हो । उपाधिका लागि एपिएफले गलकोटसँग  आज १ बजे प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।

नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई २६–०७, २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसीसँग भेट पक्का गरेको छ ।

धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गरेको हो । 

आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्