जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गरौं : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आव्हान गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यस बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका हुन्।
“यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो। हामी सबै विपद्का घटनाबाट दुःखी छौं।” उनले भने, “कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन्। आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ।”
प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे। उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने बताए ।
प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसम्कने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए । क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।
सो अवसरमा मुख्यसचिव एकनारायण अर्यालले विपद्का कारण २२४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिएको छ ।
विपद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् । मुख्य सचिव अर्यालले खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड सडकमा २ अर्ब ५२ करोड, उर्जामा ४ अर्ब, सिचाईमा एक अर्बको नोक्सानी भएको प्रारम्भिक आकलन रहेको बताए । त्यसैगरी कृषि तथा पशुपन्क्षीमा ६ अर्बको नोक्सानी भएको उनले जानकारी दिए ।