उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी सम्मानित

काठमाडौं :  ६९औं प्रहरी दिवस २०८१ का विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु सम्मानित भएका छन् । मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई  सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका हुन् ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील रहनुभएका अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई कदरपत्र प्रदान गरे । यसवर्षको नेपाल  प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरे । 

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई निःस्वार्थ सहयोग पुर्‍याउनु भई सम्मानित हुनु भएका महानुभावहरू, पुरस्कार विजेता विद्यार्थीहरू, प्रहरी दिवसका अवसरमा आयोजित विविध विधामा पुरस्कृत हुनुभएका एवं सर्वोत्कृष्ट कार्य सम्पादन गरी पुरस्कृत भएका प्रहरी कर्मचारीहरूमा हार्दिक बधाई ज्ञापन गरे। 

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनप्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि ऊर्जा र शक्तिको स्रोत भएको चर्चा गर्दै जनविश्वास अनुरूप कार्यसम्पादन गर्न अझ बढी सक्षम, जवाफदेही र व्यावसायिक हुनुपर्ने बताए । पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले देखाएको  जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने उनको विश्वास  छ  ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्