राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष सुरसज्जाबिच भेट

तश्वीर- राष्ट्रिय सभा अध्यक्षको सचिवालय

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटघाट भएको छ ।

अन्तर–व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबिच भेटवार्ता भएको हो ।भेटवार्तामा दुई देशबिचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबिच बलियो सम्बन्ध सेतुको काम गरेको बताए ।

थाइ पर्यटकका लागि भगवान बुद्धको जन्मस्थल लुम्बिनी महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले थाइ सरकारले लुम्बिनी पवित्र बगैंचामा थाइ शैलीको बिहार निर्माण गरेर थाइ पर्यटकलाई नेपाल भित्र्याउन थप मद्दत गरेकोमा खुसी व्यक्त गरे।

“दुवै देशका नागरिक वर्षेनी पर्यटकको रुपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटन लगायतका माध्यमबाट नेपाल–थाइल्याण्डबिच जनस्तरको सम्बन्ध प्रगाढ हुँदै गइरहेको मैले पाएको छु ।”

आफूहरुले नेपाल–थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसदले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरि लाभान्वित हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा थाइल्याण्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनुभयो ।बहुसंख्यक थाइ जनताले बौद्ध धर्म मान्ने गरेको उल्लेख गर्दै अध्यक्ष सुरसज्जाले बुद्ध जन्मभूमि नेपाल आफ्नो पनि सपनाको गन्तव्य भएको बताए।

थाइ पर्यटकहरुको लागि बुद्ध जन्मभूमि लुम्बिनी निकै महत्त्वपूर्ण पर्यटकीय स्थल भएको बताउँदै सुरसज्जाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आए थाइ पर्यटकहरुलाई धेरै सहज हुने बताए  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्