तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा  शुभकामना दिँदै उनले तिहार पर्वले नेपालीहरूबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने कामना गरेका छन्।

‘पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र  प्रकाशको पर्व पनि हो ।  त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो ।’ सन्देशमा भनिएको छ, ‘तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु ।’ 

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक उनको भनाई छ। ‘नेपालमा मनाइने विभिन्न चाड पर्वहरूले विविधतालाई एकतामा वाध्ने कार्य गर्दै आएको छ । यस्ता पर्वहरू मध्ये दसैँ तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाध्ने गरेको छ ।’  सन्देशमा भनिएको छ, ‘बडा दसैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाईन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।’ 

मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धका स्वरूप  गोवर्द्धन  पर्वत, मानव र अन्य जनावरबीचको सुमधुर सम्बन्धलाई स्थापित गर्न काग, कुकुर, गाईलगायत जनावर एवम् पंक्षीको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजुभाइ बीचको अक्षुण्ण सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिने सन्देशमा उल्लेख छ । 

‘गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडीका रूपमा पनि यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्त्वपूर्ण पक्ष हो’सन्देशमा भनिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?