छठ पर्वलाई सुरक्षित रुपले सम्पन्न गर्न पर्सामा विशेष सुरक्षा योजना लागू
बलिराम यादव, पर्सा ।
जिल्ला प्रहरी कार्यालय पर्साले छठ पर्वलाई लक्षित विशेष सुरक्षा योजना तयार पारेको छ । छठ पर्वलाई सुरक्षित रुपले सम्पन्न गर्नका लागि विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पर्सा प्रहरीले जनाएको छ । भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको परिचालनका साथै सीसीटीभी क्यामराबाट ‘मोनिटरिङ’ (निगरानी) गरिने रणनीति तय गरिएको पर्सा प्रहरीको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीका अनुसार यो पर्वलाई मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चाडपर्वमा हुने विभिन्न आपराधिक घटना, चोरी डकैती लगायतलाई मध्यनजर गर्दै सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न व्यापक प्रहरी परिचालन गर्ने तयारी गरिएको उनको दाबी छ ।
उनका अनुसार पर्सा प्रहरीले छठ पर्वका लागि मात्रै ६०० जना प्रहरी परिचालन गर्ने खाका तयार पारिएको छ । त्यसको अलावा आवश्यक परेको खण्डमा प्रहरी जनशक्ति थप गरी सुरक्षा चुस्त बनाउने रणनीति तयार पारिएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।
यसैगरी ट्राफिक प्रहरी, छठघाट व्यवस्थापन समिति, नागरिक अगुवा, स्वयंसेवकहरु समेत नागरिकको जिउधनको रक्षा गर्न खटिने पर्सा प्रहरी बताउँछ ।
प्रहरी प्रवक्ता भारतीका अनुसार जिल्लाभर गरी ३ सय ४७ वटा छठ घाट तयारी पारिएको छ । १४ वटै पालिकाहरुमा गरी उक्त सङख्यामा घाटहरु सिँगारिने काम भइरहेको छ ।