भरतपुरमा तीन पाङ्ग्रे अटोको रुट परमिट

काठमाडौं : भरतपुर महानगरपालिकाले तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार कालिका नगरपालिका वडा नम्बर ५ का मेष नारायण श्रेष्ठलाई अटोको पहिलो रुट परमिट दिइएको छ। एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले रुट परमिट सवारी धनी श्रेष्ठलाई प्रदान गरेका छन्।

रुट परमिट अनुसार महानगरले तोकेको निषेधित क्षेत्र बाहेक अन्य ठाउँमा चलाउन पाइने छ। ३ पाङ्ग्रे अटो तथा म्याजिक भ्यानको व्यवस्थापनको लागि महानगरपालिका यातायात शाखा स्थापना गरेको छ। महानगरपालिका १५ दिने सूचना आह्वान गरी अभिलेखीकरण र दर्ता गर्न म्याजिक भ्यान तथा अटो सञ्चालकलाई आग्रह गरेको थियो।

म्याजिक भ्यानको अभिखेखिकरण गर्न रु २ हजार, अटोको रु १ हजार, अटोको दर्ता गर्न रु १०० र स्टिकरको ३००  रुपैयाँ तोकिएको महानगरका अधिकृत बालकृष्ण थपलियाले जानकारी दिए।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (४) उपदफा (३) ट (२)अनुसार स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमनको अधिकार स्थानीय तहलाई तोकिएको छ।

महानगरमा करिब १५ सय अटो र ७ सयको संख्यामा म्याजिक भ्यान रहेको छ। यस विषयमा यातायात व्यवसायी पनि सकारात्मक रहेको अधिकृत थपलियाले जानकारी दिए।  म्याजिक भ्यान र अटोको अभिलेखीकरण भएमा नगर क्षेत्रमा हुने दुर्घटनालाई न्यूनीकरण हुने, ट्राफिक नीति तथा नियम बनाउन सहज हुने, रुट निर्धारण गर्न सहज र सौन्दर्यकरणलाई थप मद्दत पुग्ने विश्वास लिइएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?