बिरामी हुनुभन्दा अगाडि नै स्वास्थ्य परीक्षण गरौं : शहरीमन्त्री सिंह

काठमाडौँ : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको सुविधासम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गरेका हुन् ।

अस्पतालको बन्न लागेको आधुनिक र सुविधासम्पन्न भवन दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री सिंहले यस अस्पतालले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

‘‘बिरामी नभइकन स्वास्थ्यको महत्त्व नबुझिने रहेछ । आफैं बिरामी भएपछि त राम्रैसँग बुझिन्छ । त्यसैले बिरामी हुनुभन्दा अगाडि नै स्वास्थ्य परीक्षण गर्नुपर्दछ । अहिले त स्वास्थ्य क्षेत्र धेरै नै अगाडि बढिसकेको छ । यस अस्पताल भवनको निर्माणपछि प्राणघातक रोगबाट बच्न सक्ने स्थिति रहन्छ। यो अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप अगाडि बढाउनेछ ।’’ उनले भने ।

अस्पतालले उपत्यकाको सम्पर्कबाट टाढा र विकटका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने उनको भनाइ छ । उनले नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल क्लिनिकका रुपमा सुरु भएको स्मरण गराउँदै सुविधा सम्पन्न र आधुनिक अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गरे । उनले आफू बिरामी नभईकन स्वास्थ्यको महत्त्व बुझ्न नसकिने उल्लेख गर्दै बिरामी हुनुभन्दा अगाडि नै सबैले स्वास्थ्यप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘‘भक्तपुरको मध्यपुर नगरपालिकाले दक्षिण कोरियाको सहायतामा चल्दै आएको अस्पतालमा प्रभावकारी र गुणस्तरीय सेवा विस्तार गर्ने क्रममा नयाँ भवन आज शिलान्यास भएको छ । एउटा सानो क्लिनिकको रुपमा सुरु भएर आज यो एउटा अस्पतालको रुपमा विकास भएको छ । त्यसमा अझ स्वास्थ्य सेवालाई विस्तार गर्नका लागि नयाँ आधुनिक भवन बन्नु खुशीको कुरा हो ।’’

अस्पतालको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टीकृत स्वास्थ्यसेवामा पहुँच पुर्‍याउने विश्वास लिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?