मिसन : २०२६ को लक्ष्य पूरा हुने सदस्य सचिव घिसिङको विश्वास

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले मिसन-२०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरेका छन् । राखेप अन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेल पोषण कक्षाको समापन कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सदस्य-सचिव घिसिङले उक्त विश्वास गरेका हुन् ।
उनले भने, ‘१९ औं एसियाली खेलकुद सम्पन्न भए लगत्तै हामीले २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन- २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षण गत आर्थिक वर्षदेखि सुरु गरेका थियौं । हाम्रो यो तयारी करिब ३ वर्ष चल्छ । यो अवधिको प्रशिक्षणमा सहभागी हुने तपाईं खेलाडीहरुमध्येबाट लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वास छ । विगतमा के भयो के भएन त्यो विर्सिनुस् । अब हामीले गर्ने बेला आएको छ। यो उपलब्धी हासिल गर्न साधारण मिहिनेतले पुग्दैन । असाधारण प्रयासबाट मात्र सम्भव हुन्छ । यो जिम्मेवारी तपाईं खेलाडीहरुसंगै प्रशिक्षकको पनि हो । राष्ट्रिय टिम तयारीको पनि हो ।’
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गर्दै आफूले ओलम्पिकमा जित्न नसकेको पदक, एसियाली खेलकुदमा जित्न नसकेको स्वर्ण अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैले जितेसरह हुने धारणा व्यक्त गरे ।
प्रशिक्षकका तर्फबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले उर्जा थप्नुका साथै मनोबल पनि बढाएको बताउदै पाएको अवसरलाई भरपूर उपयोग गर्नु पर्ने बताए ।
हाङझाव एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले अवश्य सुखद नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताइन् ।
मंसिर १ गतेदेखि सुरु भएको यो आ.व. को विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष-महिला कबड्डी, महिला भलिबल र गल्फका ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् । कार्यक्रममा नेपालले विगतका एसियाडमा हासिल गरेको उपलब्धीको श्रब्य दृष्य पनि प्रदर्शन गरिएको थियो ।