बैतडीमा हुने प्रधानमन्त्री कप महिला टि–२०को खेल तालिका सार्वजनिक

फाइल तस्वीर
काठमाडौं : प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो ।
पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आवद्ध ८ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिए ।
उक्त छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन् । समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।
पुस १९ गते हुने उद्घाटन खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा सोही दिन हुने अर्को खेलमा डोटी र बझाङ खेल्ने छन् । पुस २४ गते हुने पहिलो खेलमा डडेल्धुरा र कैलाली तथा दोस्रोमा कञ्चनपुर र दार्चुला आमनेसामने हुनेछन् ।पुस २५ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को विजेताबीच फाइनल भिडन्त हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।