आइजीपी रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न , गण्डकी बन्यो बिजयी

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।  

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले  एक कार्यक्रमबीच प्रतियोगितामा बिजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गरे । साथै उनले म्याच रेफ्री, प्रायोजकहरू, सहभागी टिमहरू र अफिसियलहरूलाई मायाको चिनो प्रदान गरे 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै नयाँ प्रतिभावान् खेलाडीहरूको पहिचान गर्ने अवसरको रूपमा रहेको चर्चा गर्दै यस्ता प्रतियोगिताले समग्र नेपाल प्रहरीको फुटबल खेलको स्तरलाई सुदृढ तुल्याउन ठूलो योगदान पुर्या्एको बताए । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टिमलाई अझ बढि क्षमतावान्, कुशल, दक्ष र सफल बनाउने तर्फ यथोचित पहल गर्नका लागि नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीहरूलाई उनले निर्देशन समेत दिए ।

मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको टिमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रूपैयाँ र द्वितीय हुने टिमले १ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र फेयर प्ले टिमले १५-१५ हजार रूपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही १०-१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

पुस ७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका गरी जम्मा १० वटा टिमको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्