मधेस प्रदेश सभाको अधिवेशन आज बस्दै

काठमाडौं : मधेस प्रदेश सभाको चौथो अधिवेशनको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने गरि प्रदेश सभाको चौथो अधिवेशनको लागि सूचना जारी गरिएको हो । यसअघि मधेस प्रदेश सरकार (मन्त्रीपरिषद्को) निर्णयअनुसार सिफारिस भई आएको हुँदा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सभाको चौथो अधिवेशन आह्वान गरेकी हुन् । 

मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा गत १६ गते मङ्गलवार सम्पन्न मन्त्रीपरिषद् बैठकले चौथो अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम सिफारिस भएर आएपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको चौथो अधिवेशन पुस २३ गते मङ्गलबार अपराह्न १ः०० बजेबाट लागू हुने गरी आह्वान गरेकी हुन् । 

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गरेपछि प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) र (४) बमोजिम प्रदेश सभा सदस्यलगायत सबैको जानकारीको लागि प्रदेश सभा सचिवालयले सूचना जारी गरिसकेको प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्