खो–खोको पहिलो विश्वकप नेपाल पनि सहभागी हुने , उद्घाटन खेलमा भारतसँग प्रतिस्पर्धा

काठमाडौँ : नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै छ। यही जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन्।
कूल २३ राष्ट्रको सहभागिता रहने पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो।
यसअघि २४ राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी राष्ट्रको संख्या २३ भएको अन्तरराष्ट्रिय खोखो महासंघले जनाएको छ।
पुरुष खो-खो विश्वकपमा २० देश सहभागी हुनेछन् भने महिला खो-खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय ओलम्पिक एसोसिएशनले जनाएको छ।
शनिवार दिउँसो २ बजे नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने नेपाली टोलीको शुक्रवार बिदाइ हुनेछ।
नेपालले उद्घाटन खेलमा आगामी सोमवार भारतसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि समूहचरणमै आगामी मंगलवार पेरुसँग, बुधवार ब्राजिलसँग र बिहीवार भुटानसँग खेल्नेछ।
खो-खो पुरुष टिममा हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सुरज पुजारा, रोहितकुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा सहभागी छन् ।
यस्तै महिला टिममा सरस्वती कडायत (कप्तान), मानमती धामी, पक्कूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पूनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी, अनिसा गोले रहेका छन् ।