नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी सम्पन्न

काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा सहभागीहरुले नेपालको साइबर कानुन, साइबर सुरक्षा, अपराध र चुनौतिका सवालमा छलफल र बहस गरे ।

संगोष्टीको उद्घाटन गर्दै कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पछिल्लो समय इन्टरनेटको माध्यमबाट धेरै अपराधहरु भइरहेको तथा साइबर सम्बन्धी नेपालको विद्यमान कानुन, नीति र व्यवसायिकताका बारेमा कलेजका विद्यार्थीहरुलाई सचेतना दिन संगोष्टी आयोजना गरिएको बताए । साइबर सुरक्षा संगोष्टीबाट विद्यार्थीहरुले साइबर कानुन, साइबरमा जोखिम र सामाजिक, आर्थिक प्राविधिक ज्ञान प्राप्त गर्ने विस्वास व्यक्त गरे ।

संगोष्टीको पहिलो दिन आयोजित प्यानल छलफलमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक तथा प्रवक्ता राजकुमार महर्जनले सरकारले साईबर अपराध, साइबर सुरक्षा र कानुनलाई बलियो बनाउन काम गरिरहेको बताए । उनले सरकारी तवरबाट आम नागरिकलाई साइबर सम्बन्धी सचेतना दिने कार्यसँगै कानुनमा रहेका कमजोरीहरु सुधार गर्न सक्रियताका साथ कार्य भइरहेकोले सामाजिक सञ्जाल, इन्टरनेटका माध्यमबाट हुने अपराधबारे सबैले जानकारी राख्नुपर्नेमा जोड दिए ।

संगोष्टीमा राष्ट्रिय साइबर व्यूरोका एसपी दीपकराज अवस्थीले पछिल्लो पुस्ता साइबर अपराधमा जोडिनु दुखःद भएको बताउँदै नेपालमै रहेर भिओआईपी प्रयोग गरेर साइबर अपराध गर्ने क्रम बढेको र त्यस्ता कार्य गर्दा कुनै न कुनै दिन फसिने भएकोले विद्यार्थीहरुलाई त्यस्ता कार्यमा संलग्न नहुन अनुरोध गरे ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले साइबर सुरक्षा संगोष्टीले विद्यार्थीहरुलाई साइबर सुरक्षा, कानुन र अपराधका बारेमा ज्ञान दिने जिकीर गरे ।

दुई दिनसम्म चलेको साइबर सुरक्षा संगोष्टीमा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्