प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्दै

फाइल तस्वीर
काठमाडौं : प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट आजदेखि सुरु हुँदैछ । प्रतियोगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।आजको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले सोमबार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा मैदान सरसफाइसँगै कालोपत्रलगायत तयारी पूरा भएको बताउँदै खेलाडीहरू धनगढी पुग्ने क्रम जारी रहेको जानकारी दिए ।
आगामी माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुने सङ्घका सचिव लक्ष्मण भट्टले बताए । उनका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपिएफ क्लब रहेका छन् । समूह ‘बी’मा कोशी, बागमती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।